४ मंसीर,जनकपुरधाम: मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक सामाचकेवा पर्व आजदेखि शुरु भएको छ । सो पर्व आज पञ्चमीदेखि शुरु भई दश दिनसम्म चल्ने छ ।एघारौं दिन पूर्णिमाका दिनमा राति सामाचकेवाको विसर्जन गरी पर्व समापन हुनेछ । दश दिनसम्म मिथिलाञ्चलका दिदीबहिनी, छोरीबुहारीलगायत महिलाले आआफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामाचकेवा खेल्छन् ।

आजको दिन बिहानै मिथिलाञ्चलका दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँका खेत तथा भीरमा गएर दाजुभाइको हातबाट माटो खनेर ल्याई गिलो पारी विभिन्न प्रकारका कलात्मक सामाचकेवा बनाएका छन् । बेलुकासम्म सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ भरेर रङ्गीचङ्गी सामाचकेवा बनाइन्छ । रङ्गिसकेको सामाचकेवा राति रातो रङको बाँसको डालामा राखेर दियो बाली गाउँटोलका प्रत्येक चोक, चौराहा, दोबाटो, चौबाटो, विद्यालय, धर्मशाला, मन्दिर र छठघाटमा लगेर दश दिनसम्म गीत, नाच गर्दै चेलीबेटीले सामाचकेवा खेल्नेछन् ।

समूहगत रुपमा चेलीबेटी तथा छोरीबुहारी ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चम्पा फूल लगाइदिय”, “सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो” लगायत गीत गाएर सामाचकेवा खेलिन्छ । समूहमै सबैले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्छन् । दिदीबहिनीले एघारौं दिनमा बिहानै सामाचकेवालाई पुनः बनाउने, रङरोगन गर्ने, दिनभरि सुकाएर बेलुका दहीचिउरा खुवाउने, दाजुभाइको फाँर भराउने तथा तिनैबाट फुटाउन लगाएर बाजागाजा, गीतनाचका साथ गाउँको वनमा जोतिएको खेतमा लगेर विसर्जन गर्छन् ।

मिथिलाञ्चलका हरेक दिदीबहिनीले निकै मन पराउने सामाचकेवा पर्व सबैले माइत गएर मनाउने इच्छा राख्छन् । सोहीअनुरुप यस पर्वमा टाढाटाढाबाट दिदीबहिनी सामाचकेवा खेल्नका लागि आआफ्ना माइत जाने गर्छन् । दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले टोलछिमेका दाजुभाइ तथा दिदीबहिनीसँग यो पर्व मनाउने गर्छन् । सामाचकेवा पर्व खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वास छ । तराईका महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा, रौतहट र पर्सा तथा सीमावर्ती भारतीय जिल्लामा यो पर्व लोकप्रिय रहेको छ ।

मिथिलाञ्चलमा छठ पर्वको सध्याकालीन अघ्र्य दिनुभन्दा एक दिन पूर्व (आज) देखि सामाचकेवा पर्वको आगमन हुन्छ । छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीले सामग्री जोरजाम गर्छन् । यस पर्वका लागि भ्रातृद्वितीयाका दिन ल्याइएका माटोको आज पञ्चमी तिथिअर्थात् छठ पर्वको खरनाको दिनमा सिरी सामा बनाएर पर्वको शुभारम्भ गरिएको हो । प्रत्येक दिन माटाका मूर्ति बनाएर कात्तिक पूर्णिमाको रात्रि सामाचकेवा पर्व विधिवतरूपमा सम्पन्न हुन्छ । यो पर्व मिथिलानी र थारु समुदायका महिलाले मनाउने गर्छन् ।

ग्रामीण क्षेत्रमा अझै पनि यो पर्वको लोकप्रियता कायम छ भने तराईका शहरी क्षेत्रमा क्रमिकरूपमा यो पर्वप्रतिको आकर्षणमा कमी आएको महसुस गर्न थालिएको छ । काँचो माटोको बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेवा’ भनिन्छ । भगवान् कृष्णकी सुपुत्रीको नाम सामा थियो । भगवान् कृष्णले आफ्नी छोरीलाई ‘चरा’ बन्ने श्राप दिएपछि पुनः मानव योनीमा फर्काउन सामाका भाइ साम्बले खेलेको भूमिकालाई स्मरण गर्दै यो पर्व मनाउने गरिएको हो ।
सामा वृन्दावनमा घुम्न जाँदा ऋषिसँग रमण गर्ने गरेको झुठो कुरा नोकरानी डिहुलीले कृष्णसमक्ष लगाइन् । डिहुलीको कुरा सुनेर भगवान् कृष्ण आवेशमा आएर सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिनुभयो । सामाका भाइ साम्बले यी विषयमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गर्नुभयो ।
भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटोको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन्, उसको दाजुभाइ दीर्घायु हुने सामाले वरदान दिएकाले द्वापर कालदेखिनै यो पर्व मनाउन थालिएको भविष्यपुराणमा उल्लेख गरिएको छ । यस पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको शुभारम्भ भएपछि सो दिन सिरी सामा, दोस्रो दिन चकेवाका साथै एक पातिमा बसेका सातवटा चरा बनाउँछन् ।
यसलाई ‘सतभैया’ भनिन्छ । त्यसपछि क्रमिकरूपमा खररुची भैया, बाटो बहिनो, दुई मुख भएका चरा, भाग्य चक्र कारण विमुख भएका दाजुबहिनीको मूर्ति बनाइन्छ । यसका साथै वृन्दावन जङ्गल, झुठो कुरा लगाउने चुगलखोरका साथै अन्य कलात्मक मूर्ति बनाइन्छ । बनाइएका ती मूर्तिलाई विभिन्न रङमा आकर्षक ढङ्गले रङ्ग्याउने कार्य गरिन्छ । यस पर्वमा सबैभन्दा रोचक भनेको दिदीबहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसाका साथै आशिष् दिने खालका सामा गीत गाउने गरिन्छ ।
सोही क्रममा आफूलाई चाहिएका सरसमान पनि गीतको माध्यमबाट सुनाउने प्रचलन रहेको छ । यो अत्यन्त लोकप्रिय गीत हुन्छ । आफ्ना दाजुभाइको नामसहित गाइने गीतमा ठूलो मानिस बन्ने, विकासका कार्य गर्ने, समाजमा राम्रो काम गरेर नाम कमाउने खालका गीत दिदीबहिनी गाउने गर्छन् । त्यसपछि, कात्तिक पूर्णिमाको मध्यरात्रिमा महिलाले आ–आफ्ना घरबाट सामा बिदाइका पारम्परिक गीत गाउँदै चौबाटोमा भेला भएर पर्वको अन्तिम रूप दिने गर्छन् । सो अवसरमा सबैभन्दा पहिले भाइले सामा फोडेपछि चुगला र वृन्दावन जलाइन्छ । एक अर्कासँग मूर्ति साटासाट गरेर घर फर्कने क्रममा पुनः गीत गाउँदै आँगनमा पुगेर ‘झुम्मरी’ गीत गाएर पर्वको समापन गरिन्छ । यस पर्वमा प्रसादका रूपमा नयाँ धानका चिउरा, दही, मिठाइका साथै नयाँ धानको बालासमेत राख्ने गरिन्छ ।
आफ्नो प्रतिकृया दिनुहोस्