२४पुस,काठमाडौं: काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित गेष्ट हाउसबाट ३ किलो अवैध लागू औषध चरेश जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-४ गाईघाट ठेगाना भएका २७ वर्षीय सुरज चौधरी र सल्यान त्रिवेणी गाउँपालिका-७ लुहाम ठेगाना भएका २४ वर्षीय कुमार बिक रहेका छन् । गेष्ट हाउसमा लागूऔषधको कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरू बसेको कोठा तलासी गर्दा कालो झोलाभित्र लुकाई राखेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।
ललितपुर महानगरपालिका-२ सानेपास्थित सडकबाट नियन्त्रित लागूऔषध १ सय ४१ एम्पुल डाईजेपाम, १ सय ४१ एम्पुल बुप्रेनोर्फिन र १ सय ४१ एम्पुल फेनारगन सहित सप्तरी खडक नगरपालिका-५ ठेगाना भएका ४५ वर्षीय रामचन्द्र मण्डललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनलाई लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।
झापा, शिवसताक्षी नगरपालिका-१० बाट ९ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय गोपी शर्मा, कचनकवल गाउँपालिका-६ बस्ने २६ वर्षीय मदन मैनाली र सप्तरी सप्तकोशी नगरपालिका-१ फत्तेपुर बस्ने अमर बराल रहेका छन् । लागूऔषधको सेवन एवं कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्