२५जेठ,महोत्तरी : लोहारपट्टी नगरपालिकामा–६ मा अज्ञात समूहले एक घरमुलीलाई गोली हानी लाखौँको लुटपाट गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यका अनुसार गए राति घरका सबैजना सुतिरहेको बेला लोहारपट्टी–६ बस्ने राजकरण साहको घरमा चार/पाँच जनाको अज्ञात व्यक्तिहरुको समूहले घरमा प्रवेश गरी घरमुली गायत्रीदेवी साहको बायाँ तिघ्रामा गोली हानी लाखौँको लुटपाट गरी भागेका छन् ।
प्रहरी उपरीक्षक आचार्य का अनुसार लुटेराको समूहले राजकरणको घरमा लुटपाट गरिरहँदा निजकी पत्नी गायत्रीले थाहा पाई हो हल्ला गर्न थालेपछि उनलाई लुटेराले गोली हानेर फरार भएका छन् । गोली लागेको महिला गायत्री देवीको उपचार जनकपुर स्थित प्रादेशिक अस्पतालमा भइरहेको छ भने उनको अवस्था गम्भीर रहेको परिवारजनले जनाएको छ ।
लुटेराको समुहले उनको घरबाट सुनको नाकको फूली–२ आना, कानको बाली–४ आना, तिलहरी–६ आना,मंगलसुत्र–६ आना, सामसुंग मोबाईल थान–२ तथा नगद रु. २५ हजार सहित तीन लाख बढीको सरसामान लुटेर लगेको पिडितले बताएका छन् । प्रहरीले घटना स्थलबाट कटुवा पेस्तोलमा लाग्ने एक राउण्ड गोली र सोही पेस्तोलमा लाग्ने गोलीको खोका थान–एक बरामद गरेको छ भने लुटेराको खोजतलासको लागि व्यापक रूपमा प्रहरी श्रोत परिचालन गरिएको प्रहरी उपरीक्षक आचार्यले बताएका हुन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्