३०जेठ,काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो तरल अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाटै आज रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको शिलान्यास गर्नुभएको हो । शिलान्यास गर्दै उहाँले कोभिड –१९ महामारीको दोस्रो लहर शुरु भएपछि अक्सिजनको अभाव व्यहोरेको उल्लेख गर्दै प्लान्टको स्थापना असाधारण खुशीको विषय भएको बताउनुभयो ।
“दोस्रो लहरले हामीलाई एक्कासि अक्सिजनको अभाव, सिलिण्डरको अभाव ग्रस्त बनायो, त्यतिबेला हामीले मंहगो मूल्य तिरेरै पनि अक्सिजन सिलिण्डर किन्यौँ”, उहाँले भन्नुभयो । दोस्रो लहरसँगै स्वास्थ्य सामग्रीको माग बढेपछि भारतबाट अक्सिजन लगायत स्वास्थ्य सामग्री आयात गरेको उल्लेख गर्दै त्यस अवस्थामा सरकारले देशभित्रै अक्सिजन उत्पादन गर्ने सोच राख्दै हरेक सय श्यया भन्दा बढी भएका अस्पतालले अनिवार्य रुपमा आफैँले अक्सिजन प्लान्ट राख्नु पर्ने व्यवस्था समेत ल्याएको पनि प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो ।
महामारीका समयमा अक्सिजन प्लान्टले पनि नपुग्ने देखिएकाले तरल अक्सिजन प्लान्ट राख्ने निष्कर्षमा सरकार पुगेको उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले दोस्रो लहर उचाइमा चढिरहेका बेला तरल अक्सिजन प्लान्ट राख्ने उद्योगी शंकर अग्रवालको प्रयास सराहनीय एवं देशप्रति उत्तरदायी भावनायुक्त भएको बताउनुभयो । उहाँले कोरोना महामारीबाट अभिभावक विहीन भएका बालबालिका लाई के गर्न सकिन्छ भन्नेमा विचार भइरहेको जानकारीे दिनुभयो ।
“महामारीका कारणले अभिभावक गुमाएका बालबालिकालाई के गर्ने भन्नेबारेमा अध्ययन हुँदैछ र त्यसअनुसार आवश्यक कदम चालिनेछ”, उहाँले भन्नुभयो । अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न भन्सार छुट लगायतका सहयोग गर्न सरकार तयार रहेको जानकारी पनि उहाँले दिनुभयो । आगामी दिनमा कोभिड–१९ को महामारी हटिसकेपछि पनि प्लान्टबाट उत्पादन हुने अक्सिजन के गर्ने भन्ने प्रश्न उठ्नसक्ने भन्दै उहाँले छिमेकी देश र औद्योगिक क्षेत्रमा आपूर्ति गर्न सकिनेसमेत बताउनुभयो ।
अक्सिजन प्लान्टको स्थापना र अक्सिजनको उत्पादन पर्याप्त मात्रमा गर्न सकेमा व्यापार घाटा घटाउन समेत सहज हुने उहाँको भनाइ थियो । रुपन्देहीको सिमरहवामा स्थापित उक्त प्लान्टबाट दैनिक ६० मेट्रिक टन अक्सिजन उत्पादन हुन्छ । त्यसबाट दैनिक सात हजार ठूला सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ ।(रासस)



















आफ्नो प्रतिकृया दिनुहोस्