२० असार,काठमाडौँ :नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवले ‘जनताको रहर हरित सहर’ कार्यक्रम अन्तर्गत तराई–मधेसका १०५ पालिकामा वृक्षरोपण गरिने बताउनुभएको छ । मन्त्री यादवले आज सिंहदरबारमा पदबहाली पछि पहिलो निर्णय गर्दै मधेस प्रदेशका १०५ पालिकाहरूमा वृक्षरोपण गरी वनसँग जोड्ने बताउनुभएको छ ।
ती पालिकामा अहिले वन (रुख विरुवा) नरहेको भन्दै मन्त्री यादवले राजमार्गको वरिपरी र नहरको वरिपरी नदी नियन्त्रणमा उपयोग हुनेगरी रुख विरुवा रोप्ने अभियानको थालनी गरिने बताउनुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ शपथ लिएलगत्तै मन्त्री यादवले मन्त्रालय पुगेर पदबहाली गर्नुभएको हो ।
सो अवसरमा मन्त्रालय मातहत विभाग र महाशाखा प्रमुखहरूले मन्त्रालयको गतिविधिबारे मन्त्री यादवसमक्ष ब्रिफिङ गर्नुभएको थियो । मन्त्री यादवको राजनीतिक यात्रा मधेस आन्दोलनबाट राजनीतिमा उदाउनुभएका युवा नेता यादव तत्कालीन मधेसी जनअधिकार फोरम पर्साको अध्यक्ष बन्नुभएको थियो ।
पर्सा वीरगञ्ज महानगरपालिका–२२ मनिहारी स्थायी घर भएका मन्त्री यादव बाल्यकालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आउनुभयो । उहाँ विसं २०७० को संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएको थियो । पछिल्लो विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नं १ बाट उहाँ निर्वाचित हुनुभएको थियो ।
मन्त्री यादव हाल जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री पदमा सिफारिस हुनुभएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्