६ कात्तिक,सुदूरपश्चिम : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान, लोकतान्त्रिक गणतन्त्र, संघीयता बचाउन र विकास तथा समृद्धिका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ । पाँच दलीय गठबन्धन दलद्वारा आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलामा प्रधानमन्त्री देउवाले आउँदो चुनाव संविधान रहने कि नरहने तथा संघीयताको संस्थागत विकास हुने नहुने विषय सँग जोडिएकोले संविधान र संघीयताका पक्षमा एकताबद्ध भएर लाग्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री देउवाले गठबन्धनलाई पूर्ण रुपमा अगाडि बढाउँदै चुनावपछि पनि गठबन्धनकै सरकार र गठबन्धनकै वर्चश्व हुने गरी लाग्न निर्देशन दिनुभयो । देउवाले भन्नुभयो, “देशको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक छ, पाँच दलीय गठबन्धनको मर्म अनुसार हिँड्न जरुरी छ ।” प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशबाट अघिल्लो निर्वाचनमा कांग्रेसको तर्फबाट आफू एक जनामात्र विजयी भएको प्रसंग उल्लेख गर्दै अहिले गठबन्धनमा रहेका दलहरुको सहयोगमा आफू प्रधानमन्त्री बन्न पाएको उल्लेख गर्नुभयो ।
उहाँले गठनबन्धन गरेर चुनावमा जानुपर्ने परिस्थितिमा आउने चुनावमा सबैलाई टिकट दिने स्थिति नरहेको बताउँदै अहिले टिकट नपाएर अन्यायमा परेको भनिएका लाई चुनावपछि बन्ने गठबन्धनको सरकारले नयाँ अवसर दिने अश्वासन दिनुभयो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशिष्ट परिस्थितिमा गठबन्धन निकै ठूलो सङ्घर्षपछि बनेको भन्दै संविधान, लोकतन्त्र, समावेशी समानुपातिकको उपलब्धि धरापमा पर्ने खतरा पैदा भएकोले संविधान, लोकतन्त्र, परिवर्तनको रक्षा गर्दै देशलाई विकास र समृद्धिमा लैजान गठबन्धन गरिएको बताउनुभयो ।

अहिले देशमा अर्को पनि गठबन्धन बनेको उल्लेख गर्दै उहाँले भन्नुभयो,“त्यसको विचार उद्देश्य, संस्कार, संस्कृति छ ,त्यसले कहीँनकहीँ यो संविधानलाई डिरेल गर्ने, गणतन्त्रलाई उल्ट्याउने र संघीयतालाई कमजोर पार्ने छ , त्योसँग हाम्रो बहस भइरहेको छ ।” देशमा सात साल देखि महत्वपूर्ण राजनीतिक परिवर्तन भए पनि राजनीतिक परिवर्तन सँगै आर्थिक परिवर्तन र सुशासनका लागि गर्नुपर्ने काम नहुँदा केही वर्षपछि राजनीतिक परिवर्तन पातलिँदै जाने र जनतामा निराशा बढ्दै गएको देखिएको भन्दै उहाँले भन्नुभयो,“यो गठबन्धन विजयी भएपछि आर्थिक विकास र समृद्धिको यात्रालाई अघि बढाएर राजनीतिक परिवर्तनलाई दिगो बनाउन सकिन्छ ।”
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री माधव कुमार नेपालले गठबन्धनमा आवद्ध दलले समयमै कदम नचालेको भए राजनीतिक परिवर्तन पछि प्राप्त उपलब्धि सकिने भई देश पश्चगमनमा जाने खतरा थियो भन्नुभयो । पाँच दलीय गठबन्धनको प्राकृतिक र पवित्र उद्देश्य रहेको भन्दै उहाँले भन्नुभयो,“अपवित्र उद्देश्य राखेर गरिने गठबन्धन अस्वभाविक रहेको छ ।” राजनीति, राज्यसत्ता, समाज र पार्टीमा रहेका विकृति विसङ्गति हटाउन गठबन्धन बनाउनु परेको बताउँदै नेपालले भन्नुभयो,“लोकतन्त्र र गणतन्त्रमा अझैँ खतरा रहेकोले आउने चुनावमा प्रतिगामी शक्तिलाई पराजित गरेर अग्रगमनकारी शक्तिलाई विजयी बनाउनुपर्छ ।”
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान लाई क्षतविक्षत् पार्ने प्रपंचका विरुद्धमा यसको रक्षाका निम्ति यो गठबन्धन अभियान थालिएको बताउनु भयो । उहाँले भन्नुभयो,“यो चुनावी अभियान मात्र नभइ राष्ट्र लाई संकट बाट जोगाउने संविधान र परिवर्तन लाई रक्षा गर्ने महाअभियान हो । उहाँले संविधान माथि भइरहेको आक्रमणमा गम्भीर र सचेत हुनु पर्ने बताउनु भयो । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले संविधानको रक्षाका लागि गठबन्धन भएको बताउनु भयो । उहाँले प्रतिगमनको खतरा देखिए पछि आफ्नो पार्टी गठबन्धनमा लागेको बताउनु भयो।(रासस)



















आफ्नो प्रतिकृया दिनुहोस्