२१ मंसिर,जनकपुरधाम: आज विवाहपञ्चमी पर्व–देशभरमा श्रीरामचन्द्र र सीताको पूजा आराधना सहित प्रतीकात्मक रूपमा विवाह गरि दिएर मनाइँदै छ।त्रेतायुगमा आज अर्थात् मार्ग शीर्ष शुक्लपञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज जनकपुरधाम सहित देश भरमा राम–सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सवआज विधिपूर्वक हुँदैछ।
गोस्वामी तुलसी दासले रामायणमा वर्णन गर्नु भए अनुसार जनकनन्दनी सीताको विवाह भएको दिन लाई सम्झेर मिथिला वासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।रामायण अनुसार जनकपुरधामको रंगभुमी मैदानमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवी-देवताको उपस्थिति रहेको विश्वास गरिन्छ।

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवी-देवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रति छाया जन्तीको आगमन देखि बिहे सम्ममा सहभागी हुन्छन्।
महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृति अनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ। पौराणिक मान्यता अनुरूप राम मन्दिर बाट बाजागाजा, झाँकी सहित भगवान् रामको प्रतिमा लाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रंगभुमी मैदान मा पुर्याइन्छ । त्यस्तै जानकी मन्दिर बाट सीता लाई विशेष सु-सज्जित डोलामा राखी रंगभुमीमा लगिन्छ।

रंगभुमीमा स्वयंवर विधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भए पछि सीता–राम लाई जानकी मन्दिरमा ल्याइन्छ। त्यस पछि मिथिला संस्कृति अनुसार विवाह सम्पन्न हुन्छ। यस अवसरमा निस्केको भगवानकाे डोला शोभा यात्रामा राज्यका विभिन्न स्थान लगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजन समेत सहभागी हुने गर्छन्।
श्रद्धालु भक्तजन बिहान सबेरै देखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजा अर्चना गर्ने गर्छन्। यस अवसरमा भजन कीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ। देवताको मानवीयकरणको भावना सँग सम्बद्ध विवाह महोत्सवमा सरिक भए पछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ।

पहिले एक महिना सम्म भव्य रूपमा मनाउने गरिएको महोत्सव हाल पाँच दिन सम्म मनाइन्छ। यसै गरी देशभरका राम–सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइँदैछ। आज विवाह गर्न साइत नचाहिने सामाजिक मान्यता रहेकाे छ।

भगवान् श्रीरामचन्द्रको जन्मभूमि स्थित अयोध्या पुरी बाट प्रत्येक ५ वर्ष मा जन्ती आउने परम्परा अनुसार यस पाली पनि जानकी मन्दीरको आयोजन मा ५०० को हाराहारीमा जन्तीहरु जनकपुरधाम आएका छन् ।उनीहरुको स्वागत तथा आवास को व्यवस्था मधेश प्रदेश सरकार तथा जनकपुरधाम उपमहानगरपालिकाले गरेको छ ,भने रंगभुमी मैदानमा भगवान राम सिता सहितको डोला उपर स्वयम्बर बखत हेलिकोप्टर बाट पुष्प वर्षा पनि गरिएको थियो ।

आफ्नो प्रतिकृया दिनुहोस्