२४ फागुण,(महोत्तरी): मटिहानी नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा ११५औं अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाइएको छ।

“सबै महिला तथा बालबालिकाका लागि: अधिकार, समानता र सशक्तिकरण” भन्ने मूल नारासहित मटिहानी बस स्टेन्डबाट सुरु भएको र्याली नगरका विभिन्न भागहरूको परिक्रमा गरी सम्पन्न भएको थियो। उक्त र्यालीमा मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल, जनप्रतिनिधिहरू तथा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यसै अवसरमा शाखाले राम मा.वि. मटिहानीमा आयोजित विशेष कार्यक्रम मार्फत १० जना साहसी महिलालाई कदर-पत्र प्रदान गरी सम्मान गरेको छ। कार्यक्रममा नगर प्रमुख मण्डलले देश विकासमा महिलाको महत्वपूर्ण भूमिका रहेको बताउँदै तीनै तहका सरकारले महिलाको सशक्तिकरणका लागि नीतिगत स्तरमा ठोस कदम चाल्नु आवश्यक रहेकोमा जोड दिनुभयो।

उक्त कार्यक्रममा मटिहानी नगरपालिका उप-प्रमुख श्रीमती मंजु देवी साह, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, वडा अध्यक्षहरू कलीम अंसारी, रितेश साह, मदन चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा दास, शिक्षा संयोजक चन्देश्वर साह, कार्यपालिका सदस्यहरू, महिला स्वयंसेविका, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय महिला कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आफ्नो प्रतिकृया दिनुहोस्