०१, चैत्र,जनकपुरधाम: मधेसको प्राचीन धार्मिक तथा सांस्कृतिक महत्व बोकेको मिथिला मध्यमा परिक्रमा आज समापन हुँदैछ। फागुन औँसीका दिन सुरू भएको १५ दिने यो यात्रा आज १६औं दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दै सम्पन्न गरिँदैछ।
यस परिक्रमा अन्तर्गत, रङ्गभूमि मैदानमा १५औँ दिनको रात्रिविश्राम गरेका यात्रुहरूले मध्यरात कटेपछि पञ्चकोशी पनि भनिने जनकपुरधामको अन्तरगृह परिक्रमा थालेका छन्। मिथिलामा परम्पराअनुसार, १५औं दिनको रात्रिविश्रामपछि १६औं दिन पञ्चकोशी परिक्रमा गरेपछि मात्र यात्रा सम्पन्न भएको मानिन्छ।
यस अन्तिम यात्रामा सहभागी तीर्थयात्रीहरूको अन्तरगृह परिक्रमा पथमा विशाल मानवसागर देख्न सकिन्छ। बिहीबार साँझ, यात्रुहरूले होलिका दहनको खरानी उडाउँदै परिक्रमा गरेपछि पवित्र गङ्गासागरमा स्नान गरी यो वर्षको मिथिला मध्यमा परिक्रमा सम्पन्न गर्नेछन्।

मिथिलामा होलिका दहन र ‘धुरा उडाउने’ परम्परा
फागुन पूर्णिमाका रात राक्षसी प्रवृत्तिकी होलिकालाई प्रतीकात्मक रूपमा जलाउने परम्परा छ। परिक्रमा यात्रुहरूले परिक्रमा मार्गमा पर्ने होलिका दहनको खरानी उडाउँदै आफूभित्रका नकारात्मक प्रवृत्तिहरूको अन्त्यको कामना गर्दछन्। यस प्रथालाई मिथिलामा ‘धुरा उडाउने’ भनिन्छ।
मध्यमा परिक्रमामा सहभागी हुन नसकेका सर्वसाधारण पनि अन्तरगृह यात्रामा सरिक हुने चलन छ। मैथिल जनविश्वासअनुसार, मध्यमा परिक्रमा नगरे पनि अन्तरगृह परिक्रमा गरे पुण्य प्राप्त हुन्छ, जसका कारण महोत्तरी, धनुषालगायत आसपासका जिल्लाबाट हजारौँ श्रद्धालु आज परिक्रमा यात्रामा सहभागी भएका छन्।
होली पर्व मनाउने तयारी
मधेसमा फागुन पूर्णिमा सकिएर चैत कृष्ण प्रतिपदा सुरू भएको दिन होली पर्व मनाउने परम्परा छ। तर, मिथिला मध्यमा परिक्रमा वृत्तभित्र भने अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली मनाइन्छ। यसअनुसार, भोलि शनिबार मटिहानीस्थित लक्ष्मीनारायण मठमा होली पर्व मनाइनेछ।

पौराणिक कथा र परिक्रमा परम्परा
मिथिला मध्यमा परिक्रमा श्रीराम र सीताले त्रेतायुगमा गरेका विभिन्न विहार स्थलहरूलाई आधार मानेर १८औं शताब्दीमा सुरू भएको विश्वास गरिन्छ। तर, यसको समापनसँगै सत्ययुगको प्रह्लाद र होलिका सम्बन्धी पौराणिक कथा पनि जोडिएको पाइन्छ।
अनुसार, राक्षसराज हिरण्यकशिपुले आफ्नो छोरा प्रह्लादलाई मार्न अनेकौं प्रयास गरे तर असफल भए। उनले अग्निद्वारा नडढ्ने वरदान पाएकी बहिनी होलिकाको काखमा प्रह्लादलाई राखेर आगोमा बसाए, तर उल्टै होलिका आफैं भस्म भइन्, र भक्त प्रह्लाद सकुशल बचेर निस्किए।
मिथिला मध्यमा परिक्रमा श्रीराम-सीताको पदचाप पछ्याउने परम्परा हो भने फागु पर्व भने प्रह्लादको जीवित बचेको खुसीमा मनाइन्छ। यी दुवै घटनाक्रम फागुन पूर्णिमासँग मेल खाने भएकाले परिक्रमा समापन र होली पर्वबीच गहिरो सम्बन्ध रहेको मैथिल परम्पराबिद्हरू बताउँछन्।
आफ्नो प्रतिकृया दिनुहोस्