६ चैत्र,रौतहट: गरुडा नगरपालिकाले गरुडामा रहेको बंशिराम जैसवाल अनाथालय लाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले एक कार्यक्रमका बीच अनाथालयका अध्यक्ष बंशिराम जैसवाल लाई अनुदान रकम हस्तान्तरण गरे। नगरपालिकाको संस्थागत अनुदान कार्यक्रम अन्तर्गत असहाय बालबालिकाको शिक्षा, खानपान तथा अन्य सुविधाको व्यवस्थापनका लागि यो सहयोग प्रदान गरिएको उनले बताए।

उनका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत यस वर्ष पनि अनाथालयलाई आर्थिक सहायता उपलब्ध गराइएको हो। साथै, उनले अनाथ तथा असहाय बालबालिकाको शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकतामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए। नगरपालिकाको सहयोगमा अनाथालयको भवन स्तरोन्नतिको काम पनि भइरहेको जानकारी दिए।
२०५२ सालमा स्थापना भएको अनाथालयमा हाल ८० जना बालबालिका अध्ययनरत छन्, जसमा २६ जना विद्यार्थी आवासीय सुविधामा बसेर अध्ययन गरिरहेका छन्। अनाथालयका अध्यक्ष जैसवालका अनुसार संस्था विभिन्न व्यक्ति तथा संघ-संस्थाको सहयोगमा सञ्चालन हुँदै आएको छ।
२०५७ साल देखि अनाथालय परिसर भित्र सामुदायिक विद्यालय सञ्चालनमा रहेको छ, जहाँ कक्षा १ देखि ५ सम्म पठनपाठन हुन्छ। त्यस पछि विद्यार्थीहरू नजिकैको माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने गरेका छन्। अनाथालय २ कठ्ठा ५ धुर क्षेत्रफलमा फैलिएको छ, जहाँ भवन, विद्यालय र मन्दिर रहेका छन्।
आफ्नो प्रतिकृया दिनुहोस्