७ चैत्र,काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेसेप तैय्यिप एर्दोआन सँग टेलिफोन संवाद गरी हमास द्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन अनुरोध गरेका छन्।
प्रधानमन्त्री ओलीले बालुवाटारस्थित निवासबाट टेलिफोन संवाद गर्दै टर्की सरकारको सहयोग आवश्यक रहेको बताएका हुन्। जवाफमा राष्ट्रपति एर्दोआनले यस विषयलाई गम्भीरताका साथ लिई आवश्यक पहल गर्ने आश्वासन दिएका छन्। साथै, उनले विपिनको परिवार तथा नेपाली समाजलाई यस बारे जानकारी गराउने आश्वासन पनि दिए।
यसअघि, प्रधानमन्त्री ओलीले हमास द्वारा २०२३ को अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणका क्रममा बन्धक बनाइएका जोशीको रिहाइका लागि गत फागुन २७ गते इजिप्टका राष्ट्रपति सँग पनि टेलिफोन संवाद गरेका थिए।
संवादका क्रममा राष्ट्रपति एर्दोआनले आगामी अप्रिलमा टर्कीमा आयोजना हुने कूटनीतिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाको स्मरण गराएका थिए। साथै, दुई देश बीचको आर्थिक, विज्ञान तथा प्रविधि क्षेत्रमा सहकार्य विस्तार बारे पनि छलफल भएको थियो।
आफ्नो प्रतिकृया दिनुहोस्