२५ वैशाख,काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कुष्ठरोग निवारणको प्रयासलाई अझ प्रभावकारी बनाउँदै रोगको पूर्ण उन्मूलन नगरे सम्म सन्तुष्टि लिन नहुने बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभिन्न संस्थाहरूको आयोजनामा बिहीबार सम्पन्न ‘नेपाल कुष्ठरोग सम्मेलन’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाल नेपालमा प्रति १० हजार जनसंख्यामा एक भन्दा कम कुष्ठरोगी रहेको तथ्य सकारात्मक भए पनि, रोगको पूर्ण अन्त्य नै सरकारको लक्ष्य रहेको बताए।
उनले आहार–बिहार र व्यक्तिगत सरसफाइको महत्व उल्लेख गर्दै, यस्ता सङ्क्रामक रोगहरू लागेमा डराउनु भन्दा उपचार र जनचेतना फैलाउने अभियानलाई प्राथमिकता दिनु पर्ने बताए। प्रधानमन्त्रीले सम्झिए, “पहिले आशीर्वाद दिँदा ‘पाचन प्रणाली राम्रो होस्’ भनिन्थ्यो, त्यो आफैंमा स्वास्थ्य प्रतिको जागरुकता हो।”
प्रधानमन्त्री ओलीले आफू पञ्चायतकालमा गोलघरमा थुनिँदा चिसो भुइँमा राखिएको कारण मिर्गौला फेल भएको अनुभव पनि सुनाए। उनले कुष्ठरोगीहरू प्रति हुने विभेद र हेलचक्र व्यवहार अन्त्य गर्न कानुनी सुधारको आवश्यकता औंल्याउँदै, सरकारले त्यसका लागि आवश्यक नीति, सहजीकरण र जनचेतनामूलक कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाए।
“रोग लुकाउनु हुँदैन भन्ने सन्देश आमसञ्चार र सूचना प्रविधिको माध्यमबाट फैलाउनु पर्छ,” भन्दै उनले स्वास्थ्य मन्त्रालयलाई त्यस तर्फ सक्रिय हुन निर्देशन दिए।
आफ्नो प्रतिकृया दिनुहोस्