२५ वैशाख, जनकपुर : धनुषाको सबैला नगरपालिका–९ स्थित भठिहनको विवादित चौकको नाम अब ‘श्रीराम चौक’ राखिने भएको छ। लामो समय देखि जारी विवादलाई अन्त्य गर्दै सर्वपक्षीय सहमतिमा यो निर्णय गरिएको हो।
गत चैतमा चौबाटोमा ‘यादव चौक’ लेखिएको बोर्ड राखिए पछि विवाद उत्पन्न भएको थियो। स्थानीयहरू बीच झडप समेत भएको उक्त घटनामा कयौं व्यक्ति घाइते भए भने प्रहरीको गोली लागेर एक युवक गम्भीर घाइते भएका थिए, जसको अहिले पनि उपचार भइरहेको छ।
मेयरको प्रतिबद्धता र सर्वपक्षीय सहमति
विवाद पछि सबैला नगरपालिकाका मेयर कारिराम यादवले दुई महिना भित्र नाम परिवर्तन गर्ने प्रतिबद्धता जनाएका थिए। सोही अनुसार वडा नं. ९ का अध्यक्ष मनिष राय अमातको नेतृत्वमा सर्वपक्षीय बैठक बसेको थियो, जसले ‘श्रीराम चौक’ नाममा सहमति जुटाएको हो।
नयाँ बोर्ड र दिशा निर्देशन सहितको संरचना बनाइने
बैठकको निर्णय अनुसार, चोकमा अब ‘श्रीराम चौक’ लेखिएको नयाँ बोर्ड सार्वजनिक रूपमा राखिनेछ। उक्त बोर्डमा रामघाट, कोल्लुवा मोड, र सतोश्वरधाम जाने मार्गहरू समेत प्रस्ट उल्लेख गरिनेछ।
सञ्चारकर्मीहरू लाई जानकारी दिँदै स्थानीय जनप्रतिनिधिहरूले भने, “नयाँ नामले धार्मिक र सांस्कृतिक सद्भाव झल्काउँछ र स्थानीय एकता पनि मजबुत बनाउँछ।” बोर्डको अनावरण जनप्रतिनिधि र सुरक्षा निकायको उपस्थितिमा गरिने जानकारी पनि बैठक बाट दिइएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्