५ जेठ,हेटौंडा। हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष सविन न्यौपाने माथि भएको संघातिक आक्रमण प्रति हेटौंडा उपमहानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार दिउँसो वडाध्यक्षको कार्यकक्षमा पसेर एक समूहले उनलाई शारीरिक रूपमा आक्रमण गर्नुका साथै दुई थान मोबाइल लुटपाट गरेको थियो । घटना पछि उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरी यस्ता आपराधिक कार्यहरूको कडा निन्दा गरेको छ ।
नगर प्रमुख मिना लामाले जन-प्रतिनिधिमाथिको आक्रमणले उनीहरूको मनोबल गिराउने भन्दै घटनाको छानबिन गरी दोषी माथि कडा कानुनी कारबाहीको माग गर्नुभयो। उहाँले यस्ता लुकिछिपी गरिने आक्रमणहरूलाई राजनीतिक गतिविधि नभई अराजक क्रियाकलापको संज्ञा दिइन् ।
वडाध्यक्ष न्यौपानेले पनि आफूलाई लक्षित गरी गरिएको आक्रमण योजनाबद्ध भएको भन्दै संलग्न समूहलाई चाँडो पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरे ।
उपमहानगरले संघीय, प्रदेश र स्थानीय तहमा रहेको कानुनी संरचनाको परिधिमा रही दोषीलाई कारबाही गर्न, पत्रकारिताको नाममा भइरहेका यस्ता गतिविधिमा नियन्त्रण गर्न तथा संलग्न पक्ष विरुद्ध प्रचलित कानुन अनुसार कडा कारबाही गर्न आग्रह गरेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्