६ असार,जनकपुर । जनकपुरधाम स्थित रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा पुन: विवाद उत्पन्न भएको छ । आज देखि सुरु भएको बीबीएस तेस्रो वर्षको परीक्षाको प्रवेशपत्र वितरणमा ढिलाइ गरिए पछि उत्पन्न विवादले उग्र रूप लिएको छ ।
केही विद्यार्थीहरुको प्रवेश पत्र क्याम्पसमा नभेटेपछि, विद्यार्थीहरुले स्ववियु सभापति मनिष यादवलाई जानकारी गराएका थिए । यादवले क्याम्पस प्रमुख वसन्त कर्ण लाई प्रवेश पत्र बारे सोध्दा उनले गैर-जिम्मेवारीपूर्वक जवाफ दिएको विद्यार्थीहरुको आरोप छ ।

क्याम्पस प्रमुखको जवाफले आक्रोसित बनेका विद्यार्थीहरुले क्याम्पस प्रमुख संग विवाद गर्न लागे पछि प्रमुखले प्रहरी लाई खबर गरेका थिए ।प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा विद्यार्थीहरुलाई गालीगलौच गरेको विद्यार्थीहरुको आरोप छ । त्यस पछि विवादले झन उग्ररुप लिएको थियो ।
सो क्रममा केही प्रहरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले स्ववियू सभापति मनिष यादव र नेता चमन प्रसाद गोइत लाई पक्राउ गरेको छ । धनुषाका प्रहरी नायव उपरीक्षक वरुण बहादुर सिंहका अनुसार, प्रहरीले विवाद साम्य पार्न खोज्दा विद्यार्थी नेताहरूले अभद्र व्यवहार गरे पछि पक्राउ गर्नुपरेको हो ।
पक्राउको विरोधमा विद्यार्थीहरूले क्याम्पस चोकमा सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । अहिले जिल्ला प्रशासन कार्यालय अगाडी विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन् । विद्यार्थीहरूले पक्राउ परेका विद्यार्थी नेताहरूको तत्काल रिहाइको माग गरेका छन् ।यता क्याम्पस प्रमुख वसन्त कर्णले प्रवेशपत्र काठमाडौं बाटै आउन ढिलाई भएकाले प्रवेश पत्र बाँड्न अबेर भएको प्रतिक्रिया दिएका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्