नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विश्व कीर्तिमान कायम गर्ने तयारी गरेका छन्। शनिबार भारतको आन्ध्र प्रदेश स्थित विशाखापट्नममा आयोजित भव्य योग कार्यक्रममा उनले प्रत्यक्ष सहभागिता जनाउँदै तीन लाख मानिस सँगै योग अभ्यास गरेका छन् ।
यस विशाल योग कार्यक्रममार्फत ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउने लक्ष्य राखिएको छ। तीन लाख सहभागी एकैसाथ योगमा सरिक हुने यो प्रयास विश्वमै ठूलो योग जमघटका रूपमा चिनिने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री मोदीले योगलाई ‘उमेर भन्दा बाहिरको उपहार’ भन्दै प्रशंसा गरे। उनले योगले जात, धर्म, भूगोलको सीमा नाघेर सम्पूर्ण मानवतालाई ‘स्वास्थ्य र सद्भाव’ मा एकताबद्ध बनाउने बताए।
मोदीले आन्तरिक शान्तिलाई विश्वव्यापी नीति बनाउन आग्रह गर्दै योगलाई केवल व्यक्तिगत अभ्यास नभई वैश्विक एकताको शक्तिशाली साधनका रूपमा अंगाल्न अन्तर्राष्ट्रिय समुदायलाई आव्हान गरे।

“म यो महत्वपूर्ण अवसरमा विश्व समुदायसँग आग्रह गर्न चाहन्छु कि अन्तर्राष्ट्रिय योग दिवसलाई मानवताका लागि योगको सुरुवातको रूपमा चिन्हित गरौं। आन्तरिक शान्ति विश्व नीति बनोस्, र योग साझा जिम्मेवारी र एकताको माध्यम बनोस्,” – प्रधानमन्त्री मोदी
भारतका विभिन्न राज्यमा आयोजना भएका योग समारोहमा उच्चपदस्थ नेता देखि कर्मचारी, समाजसेवी र सुरक्षाकर्मीहरू समेत सहभागी भएका छन्।
संयुक्त राष्ट्र संघले सन् २०१४ मा जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसको मान्यता दिएको हो। त्यसयता हरेक वर्ष यो दिवस विश्वभर विविध कार्यक्रम मार्फत मनाइँदै आएको छ। आजको दिनमा योग न केवल भारतमा, विश्वभर लोकप्रिय अभ्यास बनिसकेको छ। योगले मानव स्वास्थ्य लाई प्रकृति र मानसिक शान्ति सँग जोड्ने सेतुको काम गरिरहेको प्रधानमन्त्री मोदीले बताए।
आफ्नो प्रतिकृया दिनुहोस्