२१ माघ,जनकपुरधाम । मधेश प्रदेश सभाले आफ्नो स्थापनाको ८ वर्ष सफलतापूर्वक पूरा गरेको छ। यस ऐतिहासिक अवसरमा आज जनकपुरधाम स्थित प्रदेश सभा सचिवालयमा विशेष समारोहका साथ आठौं वार्षिकोत्सव मनाइँदैछ। संघीयता कार्यान्वयनको महत्वपूर्ण अंगको रूपमा रहेको यस प्रदेश सभाले विगत ८ वर्षको अवधिमा संसदीय अभ्यासका विभिन्न आरोह-अवरोह पार गर्दै महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ।
प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको तथ्यांक अनुसार, यो ८ वर्षको अवधिमा प्रदेश सभाका कुल ३ सय ६५ वटा बैठकहरू बसेका छन्। जस मध्ये पहिलो कार्यकालको ५ वर्षमा ९ वटा अधिवेशन मार्फत २ सय २६ वटा बैठकहरू सञ्चालन भएका थिए भने दोस्रो कार्यकालको हालसम्मको अवधिमा १ सय ३९ वटा बैठकहरू बसिसकेका छन्।
कानुन निर्माणको क्षेत्रमा पनि प्रदेश सभाले उल्लेख्य सक्रियता देखाएको छ। पहिलो कार्यकालमा ५५ वटा विधेयकहरू पारित भई ऐन बनेका थिए भने दोस्रो कार्यकालमा दर्ता भएका २२ वटा विधेयकमध्ये संशोधन सहित १५ वटा पारित भइसकेका छन्। यसरी समग्र ८ वर्षको यात्रामा मधेश प्रदेश सभाले कुल ७० वटा विधेयकहरू पारित गरी प्रदेशको कानुनी आधार स्तम्भ तयार पारेको छ।
संसदीय अभ्याससँगै प्रदेश सरकारको कार्यकाल पनि यसै सदनबाट निर्देशित रहँदै आएको छ। ८ वर्षको अवधिमा मधेश प्रदेश सरकारले ९ वटा नीति तथा कार्यक्रम र बजेटहरू सदनमा प्रस्तुत गरिसकेको छ। यद्यपि, यो अवधि राजनीतिक स्थिरताका हिसाबले भने केही अस्थिर देखियो, जहाँ ८ वर्षको छोटो अन्तरालमै ६ जना मुख्यमन्त्रीहरू परिवर्तन भइसकेका छन्।
वार्षिकोत्सवको यस गौरवमय अवसरमा सभामुख राम अशिष यादवले सम्पूर्ण प्रदेशवासीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै प्रदेशको विकास, सुशासन र संसदीय गरिमालाई थप मजबुत बनाउन सबै राजनीतिक दल र सरोकारवालाहरू एकजुट हुनु पर्नेमा जोड दिनुभएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्