५ फागुन,जनकपुरधाम । जनकपुरधाम स्थित उच्च अदालत जनकपुरधामका कर्मचारीहरूले सोमबार ‘पेन डाउन’ गर्दै सर्लाहीमा सब–इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या गरिएको घटनाको विरोध गरेका छन् ।
सर्लाहीमा गत आइतबार राति अज्ञात व्यक्तिले सब–इन्जिनियर यादवमाथि गोली प्रहार गरी हत्या गरेको घटना प्रति गम्भीर ध्यानाकर्षण गराउँदै कर्मचारीहरूले दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका छन् । साथै मृतक राष्ट्रसेवक कर्मचारीलाई शहीद घोषणा गर्न, परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन तथा परिवारका सदस्यलाई सरकारी रोजगारी दिनु पर्ने माग पनि उनीहरूले राखेका छन् ।
आसन्न निर्वाचनका कारण कर्मचारीहरू फिल्ड र कार्यालय दुवैमा खटिनु पर्ने अवस्थामा रहेको उल्लेख गर्दै यस्ता घटनाले कर्मचारीको मनोबल गम्भीर रूपमा प्रभावित भएको उनीहरूको भनाइ छ । कार्यक्षेत्र तथा व्यक्तिगत सुरक्षाको पूर्ण प्रत्याभूति गराउन राज्यसँग उनीहरूले माग गरेका छन् ।

घटनाको विरोध तथा दोषीलाई कानुनी दायरामा ल्याउन दबाब सिर्जना गर्न बिहान १० बजे देखि १२ बजे सम्म अदालतबाट प्रवाह हुने सेवा बन्द गर्दै ‘पेन डाउन’ गरिएको उच्च अदालत जनकपुरधामका कर्मचारी मनोज कुमार यादवले जानकारी दिए । दोषीलाई शीघ्र पक्राउ गरी कारबाही नगरे थप आन्दोलनमा उत्रिन बाध्य हुने र देशभरका अदालतको कामकाज ठप्प पार्ने चेतावनी पनि उनले दिएका छन् ।
उनका अनुसार कर्मचारीहरूले आज दिनभरि कालोपट्टी बाँधेर विरोध जनाएका छन् भने सर्लाहीका कर्मचारीहरूले सम्पूर्ण कामकाज ठप्प पारेर आन्दोलन गरिरहेका छन् ।
सिराहाको खुसीपुर नगरपालिका–६ घर भएका ३६ वर्षीय सब–इन्जिनियर प्रमोद कुमार यादवको मलङ्गवा नगरपालिका–१० स्थित डेरामा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले कोठाबाहिर बोलाई गोली प्रहार गरेको थियो । गोली उनको देब्रे छातीमा लागेको थियो, जसबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।


















आफ्नो प्रतिकृया दिनुहोस्