जनकपुरधाम: विवाह पञ्चमीको शुभ अवसरमा गएराति भगवान रामचन्द्र र माता सीताको विवाह सम्पन्न भए सँगै आज देखि मिथिलाञ्चलका सर्वसाधारणको घरमा विवाह उत्सव शुरु भएको छ । त्रेता युग देखि नै नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रभरि भगवान रामचन्द्र र माता सीताको विवाह भएपछि आजैका दिन देखि सर्व साधारणले पनि आ–आफ्ना छोराछोरीको विवाह शुरु गर्ने चलन रहेकाले आजदेखि मिथिलाका प्रत्येक गाउँठाउँमा सर्वसाधारणले पनि विवाहको शुभारम्भ गरेका छन् ।
मिथिलामा सबैभन्दा पहिले भगवान रामचन्द्र र माता सीताको विवाह हुने तथा त्यस पछि सर्व-साधारणहरुले पनि आ–आफ्ना छोराछोरीको विवाह गर्ने त्रेता युग देखि चल्दै आएको लोक मान्यता रहेको जलेश्वर नगरपालिका–८ का प्रख्यात पण्डित कालिकान्त झाले बताउनु भयो ।
महोत्तरी र धनुषाका विभिन्न स्थानमा एक साता सम्म भगवान रामचन्द्र र माता जानकीको विवाहका विभिन्न विधि सम्पन्न गर्दै गए राति जनकपुरधाममा भगवान रामचन्द्र र माता सीताको विवाह सम्पन्न भएपछि अब सर्व-साधारणले आज देखि विवाह गर्ने भएका छन् ।
विवाह पञ्चमी उत्सव अन्तर्गत यसपाली मंसीर २६ गते जनकपुरधाम दर्शन, २७ गते फुलबारी लिला, २८ गते धनुष यज्ञ, २९ गते तिलकोत्सव, ३० गते मटकोर विधि, पुस १ गते स्वयंवर तथा विवाह पञ्चमी (शुभ विवाह) र आज राम कलेवा संपन्न् भएकाे छ ।
आफ्नो प्रतिकृया दिनुहोस्