काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आइतबार देखि भारतको दुई दिने राजकीय भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको उक्त भ्रमणलाई नेपाल–भारत बीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन मार्फत प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेका हुन्। उनका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडान मार्फत नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु सँग शिष्टाचार भेट गर्नेछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग मंसिर ७ गते सोमबार प्रतिनिधि मण्डल स्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन्।
दुई प्रधानमन्त्री बीच हुने वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षका साथै द्विपक्षीय व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयसमेत वार्ताको एजेन्डामा रहनेछन्।
भ्रमणका क्रममा ऊर्जा सहकार्य र भौतिक पूर्वाधारसँग सम्बन्धित केही आयोजनाको उद्घाटन तथा नयाँ आयोजनाको शिलान्यास गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई देश बीच विभिन्न विषयमा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी पनि छ।
प्रधानमन्त्री शाहको भ्रमण दलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन्जन्कर लगायत ३४ सदस्यीय आधिकारिक प्रतिनिधिमण्डल सहभागी हुने छन्। यस बाहेक निजी खर्चमा ५२ जना नेपाली व्यवसायी तथा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि समेत भ्रमणमा सहभागी हुने कार्यक्रम छ।
भ्रमणका क्रममा नेपाल र भारतका व्यवसायीबीच व्यापार तथा लगानी सम्बन्धी छलफल समेत हुनेछ। नेपालमा भारतीय लगानी आकर्षित गर्ने, व्यापारिक सम्बन्ध विस्तार गर्ने र आर्थिक सहकार्यका नयाँ सम्भावना पहिचान गर्ने उद्देश्यले व्यवसायी स्तरीय अन्तरक्रिया आयोजना गरिने छ।
प्रधानमन्त्री शाहले नयाँ दिल्ली स्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमसमेत रहेको छ। भ्रमणका औपचारिक कार्यक्रम सम्पन्न गरी उनी सोमबार साँझ ६:३५ बजे नेपाल वायुसेवा निगमको नियमित उडान मार्फत स्वदेश फर्कने कार्यतालिका छ।
यस वर्ष मार्चमा प्रधानमन्त्री पद सम्हाले पछि शाहको यो पहिलो भारत भ्रमण हो। नेपाल र भारत बीच ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा आर्थिक सम्बन्ध रहँदै आएको सन्दर्भमा उनको भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ।
विशेष गरी व्यापार, ऊर्जा, पारवहन, हवाई सम्पर्क तथा पूर्वाधार विकासका क्षेत्रमा देखिएका सम्भावना र चुनौतीलाई सम्बोधन गर्न यो भ्रमण कत्तिको उपलब्धिमूलक हुन्छ भन्ने विषयमा चासो बढेको छ। भ्रमण बाट हुने सहमति र समझदारीले दुई देश बीचको सम्बन्धलाई व्यवहारिक सहकार्यमा रूपान्तरण गर्न कस्तो योगदान पुर्याउँछ भन्ने कुरा महत्त्वपूर्ण हुनेछ।




















आफ्नो प्रतिकृया दिनुहोस्