नयाँ दिल्ली । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका विदेश मन्त्री डा. एस. जयशंकर बीच आइतबार साँझ नयाँ दिल्ली स्थित होटल ताजमहलमा शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको हो।
भेटका क्रममा विशेष गरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्ध लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयले प्राथमिकता पाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दुवै पक्षले नेपाल र भारतबीच विद्यमान सहयोगलाई थप प्रभावकारी बनाउने तथा आपसी सम्बन्धलाई नयाँ गति दिने विषयमा विचार आदान प्रदान गरेका छन्।
प्रधानमन्त्री शाह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुग्नु भएको हो। उहाँको भारत भ्रमणलाई नेपाल–भारतबीच आर्थिक, विकास, ऊर्जा तथा पूर्वाधार साझेदारीका विषयमा संवाद अघि बढाउने अवसरका रूपमा हेरिएको छ।

नेपाल र भारत बीच खुला सीमा, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध रहँदै आएको छ। व्यापार, पारवहन, ऊर्जा व्यापार, सीमापार पूर्वाधार तथा जनस्तरको आवागमन दुवै देशको सम्बन्धका महत्त्वपूर्ण आधार हुन्। विशेष गरी मधेश तथा सीमावर्ती क्षेत्रका नागरिकका लागि भारतसँगको व्यापार, आवागमन, धार्मिक पर्यटन र आर्थिक सम्बन्ध प्रत्यक्ष सरोकारका विषय रहँदै आएका छन्।
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता तथा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उक्त उच्चस्तरीय भेटवार्तामा दुई देश बीचको सहयोग, आर्थिक साझेदारी, ऊर्जा, कनेक्टिभिटी तथा विकासका विभिन्न विषयमा थप छलफल हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणबाट हुने छलफल तथा सम्भावित सहमति नेपाल–भारत सम्बन्ध लाई व्यवहारिक, पारस्परिक लाभदायी र परिणाममुखी बनाउने दिशामा महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।




















आफ्नो प्रतिकृया दिनुहोस्