काठमाडौँ, ३० कात्तिक : निर्वाचन आचार संहिता उल्लङ्घन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवं प्रहरी प्रवक्ता टेक प्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् । “आचार संहिता विपरित काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो”, उहाँले भन्नुभयो, “कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिने छन् ।
उहाँहरु लाई पटक–पटक चेतावनी दिँदा समेत अटेर गरेपछि कारबाही गरिएको हो ।” प्रवक्ता राईका अनुसार अनुसार कारवाही पर्नेमा प्रदेश नं १ मा ४८ , काठमाडौँ उपत्यकामा एक र बागमती प्रदेशमा पाँच रहेका छन् । त्यसैगरी गण्डकी प्रदेशमा २४ , लुम्बिनी प्रदेशमा चार , कर्णाली प्रदेशमा एक र सुदूरपश्चिममा सात छन् ।
काठमाडौँ उपत्यका सहित सात प्रदेशमा एक लाख १५ हजार म्यादी प्रहरीको कोटा रहेकामा हाल एक लाख १४ हजार आठ सय ७७ उपस्थित भएका छन् । यसमा पुरुष ८४ हजार दुई सय ४८ र महिला ३० हजार छ सय २९ छन् । (रासस)



















आफ्नो प्रतिकृया दिनुहोस्