आशिष कुमार मण्डल :
नेपालको अर्थतन्त्र र दैनिक जनजीवन पेट्रोलियम पदार्थ सँग यसरी जोडिएको छ कि यसको आपूर्ति केही दिन मात्रै अवरुद्ध भए पनि त्यसको असर घरको भान्सा देखि राष्ट्रिय अर्थतन्त्र सम्म पुग्न सक्छ। बिहान घरबाट निस्कने सार्वजनिक यातायात देखि बजारमा पुग्ने खाद्यान्न, अस्पतालमा बिरामी बोक्ने एम्बुलेन्स, खेतबारी जोत्ने ट्र्याक्टर र विकास निर्माणमा प्रयोग हुने ठूला मेसिनरी सम्म पेट्रोल र डिजेलमा निर्भर छन्।
हामीले दैनिक उपभोग गर्ने अधिकांश वस्तुको उत्पादन, प्रशोधन र ढुवानी प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पेट्रोलियम पदार्थको भूमिका रहेको छ। यस्तो अवस्थामा एउटा गम्भीर प्रश्न उठ्छ— कुनै दिन पेट्रोल र डिजेलको आपूर्ति लामो समय सम्म बन्द भयो भने नेपाल कसरी चल्छ?
यो प्रश्न सामान्य जिज्ञासा मात्र होइन, नेपालको राष्ट्रिय ऊर्जा सुरक्षा र आर्थिक आत्मनिर्भरतासँग जोडिएको गम्भीर विषय हो। नेपाल भूपरिवेष्ठित मुलुक भएकाले पेट्रोलियम पदार्थको आपूर्तिका लागि बाह्य स्रोत र पारवहन व्यवस्थामा निर्भर रहनुपरेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यवृद्धि, युद्ध, राजनीतिक तनाव, भूराजनीतिक प्रतिस्पर्धा वा आपूर्ति शृङ्खलामा उत्पन्न अवरोधले हाम्रो अर्थतन्त्रलाई प्रत्यक्ष असर पार्न सक्छ।
विगतमा भएको नाकाबन्दीले पनि इन्धन आपूर्तिमा आएको अवरोधले देशको यातायात, उद्योग, व्यापार र सर्वसाधारणको जीवन कति प्रभावित हुन सक्छ भन्ने अनुभव गराइ सकेको छ। तर, त्यस्तो अनुभवबाट हामीले दीर्घकालीन रूपमा कति पाठ सिक्यौँ भन्ने प्रश्न अझै महत्त्वपूर्ण छ।
इन्धनको आपूर्ति अवरुद्ध भएको अवस्था कल्पना गर्दा यसको असर केवल सवारीसाधन सञ्चालनमा सीमित रहँदैन। मालवाहक ट्रकहरू रोकिनासाथ खाद्यान्न, तरकारी, औषधि र अन्य अत्यावश्यक वस्तुको ढुवानी प्रभावित हुन्छ। बजारमा वस्तुको अभाव सिर्जना हुन सक्छ र मूल्यवृद्धिले सर्वसाधारणको जीवन थप कठिन बनाउन सक्छ। कृषि क्षेत्रमा ट्र्याक्टर, डिजेलबाट चल्ने पम्पसेट र अन्य उपकरण सञ्चालन गर्न नसक्दा खेतीपाती प्रभावित हुन्छ।
समयमा जोताइ, सिँचाइ र कृषि उपजको ढुवानी हुन नसके खाद्य सुरक्षामै चुनौती उत्पन्न हुन सक्छ। अस्पतालमा एम्बुलेन्स, जेनेरेटर र अन्य अत्यावश्यक उपकरण सञ्चालनमा समस्या आउन सक्छ। उद्योग धन्दा, निर्माण आयोजना र व्यापारिक गतिविधि प्रभावित हुँदा रोजगारी तथा सरकारी राजस्वमा समेत असर पर्न सक्छ। अर्थात्, पेट्रोलियम पदार्थको अभाव एउटा क्षेत्रको समस्या नभई समग्र राष्ट्रिय प्रणालीलाई प्रभावित पार्न सक्ने जोखिम हो।
यस्तो जोखिम हुँदाहुँदै पनि नेपालमा इन्धन सुरक्षाको बहस प्रायः मूल्यवृद्धि र तत्कालीन अभावमा सीमित हुने गरेको छ। इन्धनको मूल्य बढ्दा विरोध र आलोचना हुन्छ, आपूर्ति सहज भएपछि समस्या बिस्तारै ओझेलमा पर्छ। तर, दीर्घकालीन समाधानका लागि आवश्यक पूर्वाधार, भण्डारण क्षमता, वैकल्पिक ऊर्जा र आपत्कालीन व्यवस्थापन बारे निरन्तर बहस हुन सकेको देखिँदैन। संकट आएपछि विकल्प खोज्नु भन्दा संकट आउनु अघि नै तयारी गर्नु राज्यको जिम्मेवारी हो।
नेपालका लागि यस दिशामा सबैभन्दा ठूलो सम्भावना जलविद्युत् हो। देशका खोलानाला र नदीबाट उत्पादन हुने विद्युत्लाई केवल निर्यात वा घरायसी उज्यालोका रूपमा मात्र हेरेर पुग्दैन। यसलाई यातायात, कृषि, उद्योग र उत्पादन प्रणाली सँग जोड्न आवश्यक छ। नेपालले आफ्नै स्रोतबाट पर्याप्त विद्युत् उत्पादन गर्न सक्ने अवस्था निर्माण गर्दै जाँदा पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने अवसर पनि बढ्छ।
तर, विद्युत् उत्पादन बढ्नु मात्रै ऊर्जा आत्मनिर्भरताको प्रमाण होइन। उत्पादित बिजुली देशभित्रै कति खपत भइरहेको छ, त्यसले पेट्रोलियम पदार्थको आयातलाई कति विस्थापन गर्न सकेको छ र त्यसका लागि आवश्यक पूर्वाधार कति तयार भएको छ भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण छन्।
विशेषगरी सार्वजनिक यातायातलाई विद्युतीय प्रणालीमा रूपान्तरण गर्ने विषयलाई राष्ट्रिय प्राथमिकतामा राख्नु पर्छ। ठूला सहरमा विद्युतीय बस, छोटो तथा मध्यम दूरीमा विद्युतीय सार्वजनिक सवारी, मालवाहक विद्युतीय गाडी र कृषि क्षेत्रमा विद्युत्बाट सञ्चालन हुने उपकरणको प्रयोग विस्तार गर्न सकिन्छ।
यसका लागि पर्याप्त चार्जिङ स्टेसन, भरपर्दो विद्युत् आपूर्ति, सवारी साधनको मर्मतसम्भार र लगानीमैत्री नीतिको आवश्यकता पर्छ। सरकारले विद्युतीय सवारी आयातमा प्रोत्साहन दिने नीतिसँगै स्वदेशमै यसको प्रयोग र पूर्वाधार विस्तारलाई जोड दिनु पर्छ। निजी क्षेत्रलाई पनि यस क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नु पर्छ।
यद्यपि, सबै प्रकारका सवारीसाधन र मेसिनरीलाई तत्काल विद्युत्मा रूपान्तरण गर्न सम्भव छैन। लामो दूरीका भारी मालवाहक सवारी, दुर्गम क्षेत्रका यातायात, कृषि उपकरण र निर्माण क्षेत्रमा प्रयोग हुने कतिपय मेसिनरीमा अझै प्राविधिक तथा आर्थिक चुनौती छन्। त्यसैले जलविद्युत्मा आधारित आधुनिक प्रणालीको विकास सँगै अन्य वैकल्पिक ऊर्जा स्रोत र स्थानीय स्तरमा उपलब्ध साधनको उपयोग बारे पनि सोच्न आवश्यक छ।
यस सन्दर्भमा हामीले आफ्नै परम्परागत ज्ञान र सीपलाई पनि पुन: मूल्याङ्कन गर्नु पर्छ। आधुनिक यातायात र प्रविधिको विकाससँगै कुनै समय दैनिक जीवनको अभिन्न हिस्सा रहेका गोरुगाडा, घोडा, खच्चड र भरियाको श्रमलाई हामीले क्रमश: बिर्सँदै गएका छौँ। तर, यी साधनको उपयोगिता पूर्ण रूपमा समाप्त भएको छैन।
तराईका फाँटमा कुनै समय गोरुगाडाले कृषि उपज र सामान ओसारपसार गर्थ्यो भने पहाडी तथा हिमाली क्षेत्रमा घोडा, खच्चड र मानवीय श्रमले दुर्गम बस्तीको आपूर्ति व्यवस्था धान्थ्यो। आज पनि सडक नपुगेका कतिपय बस्तीमा यस्ता साधनको महत्त्व कायम छ।
यसको अर्थ नेपालले आधुनिक यातायात छाडेर पुन: परम्परागत प्रणालीमा फर्किनु पर्छ भन्ने होइन। बरु, आधुनिक प्रविधि उपलब्ध नभएको वा प्राकृतिक विपत्ति, इन्धन अभाव र सडक सम्पर्क विच्छेद भएको अवस्थामा उपयोग गर्न सकिने स्थानीय विकल्पलाई संरक्षण गर्नु आवश्यक छ।
स्थानीय स्तरमा पशुपालन, परम्परागत ढुवानीका साधन निर्माण गर्ने सीप र भूगोलअनुसार उपयुक्त साधन प्रयोग गर्ने ज्ञानलाई निरन्तरता दिन सकेमा संकटको समयमा त्यसले सहयोग पुर्याउन सक्छ। विकासको नाममा उपयोगी परम्परागत ज्ञानलाई पूर्ण रूपमा विस्थापित गर्नु पनि दूरदर्शी सोच हुन सक्दैन।
अर्को तर्फ, ऊर्जा सुरक्षाका लागि सरकारले पेट्रोलियम पदार्थको रणनीतिक भण्डारणलाई पनि प्राथमिकता दिनु पर्छ। नियमित आयात र वितरण प्रणालीमा समस्या आउँदा केही समय सम्म देशको अत्यावश्यक आवश्यकता धान्न सक्ने भण्डारण क्षमता आवश्यक हुन्छ।
भण्डारणको मात्रा, स्थान, व्यवस्थापन र आपत्कालीन वितरणको स्पष्ट योजना हुनु पर्छ। अस्पताल, एम्बुलेन्स, सुरक्षा निकाय, खाद्यान्न ढुवानी र कृषि उत्पादन जस्ता अत्यावश्यक क्षेत्रमा संकटको समयमा इन्धन उपलब्ध गराउने छुट्टै व्यवस्था हुनुपर्छ। साथै, आपूर्ति मार्गको विविधीकरण र वैकल्पिक पारवहन व्यवस्था बारे पनि राज्यले दीर्घकालीन रणनीति बनाउनु पर्छ।
नेपालको अर्को चुनौती भनेको ऊर्जा नीति र कार्यान्वयन बीचको दूरी हो। जलविद्युत् उत्पादनको सम्भावना धेरै भए पनि त्यसलाई यातायात, उद्योग र कृषि क्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्न आवश्यक पूर्वाधार र नीतिगत समन्वय अझै महत्त्वपूर्ण छन्। विद्युतीय सवारीसाधनको प्रयोग बढाउने घोषणा गर्नु एउटा पक्ष हो भने त्यसका लागि आवश्यक चार्जिङ पूर्वाधार, सार्वजनिक यातायातको व्यवस्थापन र सर्वसाधारणको पहुँच सुनिश्चित गर्नु अर्को पक्ष हो। त्यसैले ऊर्जा आत्मनिर्भरताको बहसलाई उत्पादनको तथ्याङ्कमा मात्र सीमित नराखी उपभोग, पूर्वाधार र वास्तविक उपलब्धिसँग जोड्नु पर्छ।
इन्धन संकटको तयारी सरकारको मात्रै जिम्मेवारी पनि होइन। स्थानीय तहले आफ्नो क्षेत्रमा खाद्यान्न उत्पादन, भण्डारण, ढुवानी र अत्यावश्यक सेवाको अवस्था बारे योजना बनाउन सक्छन्। उद्योगी, व्यवसायी र यातायात क्षेत्रले वैकल्पिक ऊर्जाको प्रयोग बढाउन सक्छन्। नागरिकले पनि सम्भव भए सम्म विद्युत् आधारित साधनको प्रयोग, ऊर्जा बचत र स्थानीय उत्पादनको उपभोगलाई प्राथमिकता दिन सक्छन्। राष्ट्रिय ऊर्जा सुरक्षा राज्यको नीतिसँगै समाजको सामूहिक तयारीबाट बलियो बन्ने विषय हो।
अन्तत: पेट्रोल र डिजेलको आपूर्ति सधैँ सहज रहन्छ भन्ने कुनै सुनिश्चितता छैन। अन्तर्राष्ट्रिय राजनीति, युद्ध, प्राकृतिक विपत्ति र आर्थिक संकटले कुनै पनि बेला आपूर्ति प्रणालीलाई प्रभावित पार्न सक्छन्। यस्तो अवस्थामा नेपालसँग आफ्नै ऊर्जा स्रोतको अधिकतम उपयोग, वैकल्पिक यातायात प्रणाली, रणनीतिक इन्धन भण्डारण र स्थानीय साधनको संरक्षणजस्ता विकल्प हुनु आवश्यक छ।
हामीले विकासलाई केवल आयातित इन्धन र आधुनिक मेसिनरीको विस्तारका रूपमा बुझ्नु हुँदैन। वास्तविक विकास भनेको आफ्नै स्रोत र क्षमताको उपयोग गर्दै बाह्य निर्भरता घटाउनु पनि हो। जलविद्युत्मा आधारित आधुनिक पूर्वाधार निर्माण गर्ने र आवश्यकता अनुसार काम लाग्ने परम्परागत सीप तथा साधनलाई संरक्षण गर्ने दोहोरो रणनीति नेपालका लागि उपयोगी हुन सक्छ।
आज पेट्रोल र डिजेल सहजै उपलब्ध छन् भन्दैमा भोलि पनि त्यस्तै अवस्था रहन्छ भन्ने छैन। त्यसैले प्रश्न केवल पेट्रोल र डिजेल नभए के गर्ने भन्ने होइन, प्रश्न हो— सम्भावित संकट आउनु अघि हामीले आफ्नो विकल्प कति तयार गरेका छौँ? यसको जवाफ भाषण र घोषणामा होइन, राज्यको नीति, पूर्वाधारमा गरिएको लगानी र व्यवहारमा देखिनु पर्छ। संकट आएपछि विकल्प खोज्ने होइन, संकट आउनुअघि नै आत्मनिर्भरताको आधार तयार गर्नु नै नेपालको ऊर्जा सुरक्षाको वास्तविक परीक्षा हो।



















आफ्नो प्रतिकृया दिनुहोस्