जनकपुरधाम :
भारतको धार्मिक नगरी अयोध्या र नेपालको पवित्र धार्मिक तथा सांस्कृतिक नगरी जनकपुरधामलाई जोड्ने बहुप्रतीक्षित ‘सरयू–कमला एक्सप्रेस’ रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँ दिल्ली स्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा शुभारम्भ गरेको उक्त रेल सेवा पहिलो यात्रा पूरा गर्दै जनकपुरधाम पुगेको हो।
सोमबार दिउँसो भारतको अयोध्याधाम बाट प्रस्थान गरेको १७ डिब्बे रेल मंगलबार बिहान करिब ९ः४० बजे जनकपुरधाम रेल्वे स्टेसनमा आइपुगेको थियो। रेलमा एक हजारभन्दा बढी तीर्थयात्री तथा यात्रु सवार रहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिएका छन्।
जनकपुरधाम रेल्वे स्टेसनमा रेल आइपुग्दा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, संघीय श्रममन्त्री रामजी यादव, स्थानीय जनप्रतिनिधि, धार्मिक अगुवा तथा सर्वसाधारणले नेपाली र भारतीय राष्ट्रिय झण्डा फहराउँदै यात्रुहरूको भव्य स्वागत गरेका थिए। तीर्थयात्रीहरूलाई फूलमाला लगाएर स्वागत गर्नुका साथै मिथिलाको परम्परा, संस्कृति र पहिचान झल्किने सांस्कृतिक कार्यक्रम तथा झाँकी समेत प्रस्तुत गरिएको थियो।
स्वागत कार्यक्रममा बोल्दै मुख्यमन्त्री सरोज कुमार यादवले अयोध्या र जनकपुरधामबीच रेल सेवा सञ्चालन हुनु धार्मिक, सांस्कृतिक तथा आर्थिक पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। यसले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै मधेश प्रदेशको पर्यटन तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।

अयोध्यालाई भगवान् श्रीरामको जन्मभूमि तथा जनकपुरधामलाई माता सीताको जन्मभूमिका रूपमा लिइन्छ। पौराणिक तथा धार्मिक मान्यता अनुसार यी दुई नगरीबीच त्रेतायुग देखि जोडिएको वैवाहिक, धार्मिक र सांस्कृतिक सम्बन्धलाई रेल सेवाले आधुनिक यातायातको माध्यमबाट थप नजिक ल्याएको छ। विशेषगरी विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट जनकपुरधाम आउने श्रद्धालुका लागि यो रेल सेवा महत्वपूर्ण माध्यम बन्ने विश्वास गरिएको छ।
जनकपुरधाम आइपुगेका तीर्थयात्रीहरूलाई जानकी मन्दिर लगायतका धार्मिक तथा ऐतिहासिक स्थलको दर्शन र अवलोकन गराउने व्यवस्था गरिएको थियो। जानकी मन्दिरका सहायक महन्त रामरोशन दासका अनुसार अयोध्याबाट आएका श्रद्धालुहरूका लागि पूजाआजा तथा दर्शनको विशेष व्यवस्था मिलाइएको थियो। निर्धारित कार्यक्रम अनुसार तीर्थयात्रीहरूले जनकपुरधामका विभिन्न धार्मिक स्थलको भ्रमण पछि पुन: रेल्वे स्टेसन फर्किएर भारत तर्फको यात्रा गर्ने कार्यक्रम रहेको थियो।
‘सरयू–कमला एक्सप्रेस’ नाम अयोध्याको सरयू नदी र मधेश क्षेत्रसँग सम्बन्धित कमला नदीको नामबाट राखिएको हो। करिब ६०४ किलोमिटर दूरी जोड्ने यस रेल सेवाले भारतको उत्तर प्रदेश र बिहार हुँदै नेपाल सम्म धार्मिक यात्रालाई सहज बनाउने अपेक्षा गरिएको छ। रेलमा स्लीपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी तथा एसी टु टियर लगायतका सुविधा उपलब्ध छन्।
अयोध्या–जनकपुरधाम रेल सेवा सञ्चालनले नेपाल–भारतबीचको परम्परागत ‘बेटी–रोटी’ सम्बन्धलाई थप सुदृढ बनाउने मात्र नभई धार्मिक पर्यटन, व्यापार, रोजगारी, होटल व्यवसाय तथा स्थानीय आर्थिक गतिविधिमा समेत नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ। विशेषगरी जनकपुरधामलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न यो रेल सेवा महत्वपूर्ण आधार बन्न सक्ने देखिन्छ।
लामो समय देखि धार्मिक तथा सांस्कृतिक सम्बन्धका आधारमा जोडिएका अयोध्या र जनकपुरधाम अब प्रत्यक्ष रेल सेवाबाट जोडिनुले मिथिलाको ऐतिहासिक पहिचान र नेपाल–भारत जनस्तरको सम्बन्धमा नयाँ अध्याय थपेको छ।




















आफ्नो प्रतिकृया दिनुहोस्