काठमाडौँ, ७ पुस : प्रतिनिधि सभाका नव-निर्वाचित सांसदहरूको स्वागत तथा सम्मानमा संघीय संसद् सचिवालयले जलपान समारोहको आयोजना गरेको छ । नवनिर्वाचित सांसदहरूको शपथ सकिए लगत्तै नयाँ बानेवश्वर स्थित संसद् भवन परिसरमा सचिवालयले जलपान समारोह आयोजना गरेको हो ।

यस अघि प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो । नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुन बमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथ समारोहको अगाडि संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सबै नवनिर्वाचित सबै सांसदलाई स्वागत, बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो । महासचिव डा. गौतमले शपथपत्रमा हस्ताक्षर तथा संघीय संसद्को प्रतीक चिह्न ‘लोगो’ लगाउन आग्रह गर्नुभएको थियो । प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित एक सय १० गरी कुल दुई सय ६५ सांसद छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन गत मङ्सिर ४ गते सम्पन्न भएको हो । (रासस)



















आफ्नो प्रतिकृया दिनुहोस्