२२ जेठ,काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्रको वृहत्तर हितलाई केन्द्र विन्दुमा राखेर नेपाली नागरिकले सहज ढङ्गले नागरिकता पाउन र अनागरिकले नागरिकता प्राप्त नगरुन भन्ने सैद्धान्तिक विषयमा सबैको एकमत भएको बताउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले नागरिकताका विषयमा अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ मा सबैको सहमतिका आधारमा उक्त व्यवस्था गरिएको समेत उल्लेख गर्नु भयो ।
यस सिद्धान्तमा कसैको विमती नभएको समेत स्पष्ट पार्नु भयो । जन्मका आधारमा नेपालीलाई नागरिकता दिन, आमाको नाममा नागरिकता दिन र गैरआवासीय नेपालीलाई नागरिकता दिन कानुन आवश्यक भएको उहाँको भनाइ छ । जन्मसिद्ध नागरिक आमा बाबुका छोराछोरी नागरिकता पाउनु पर्छ भन्नेमा सबै एकै ठाउँमा रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । “हामी विवाह गरी आउने महिलाका हकमा केही प्रक्रिया राख्नुपर्छ भन्नेमै छौँ, विवादै नभएको विषयमा किन विवाद गराउन खोजिएको छ ?

नागरिकता नपाउने १२/१५ लाख भइसके, केपी ओली प्रम हुँदा ल्याएको अध्यादेश र शेरबहादुर देउवा प्रम हुँदा ल्याएको विधेयक एउटै हो, अदालतमा भएको विषयलाई यहाँ किन विवाद गर्ने, अदालतको निर्णय सबैले मान्नु पर्छ”, उहाँले भन्नु भयो । साथै उहाँले हालैको आफ्नो चार दिने भारत भ्रमणका अवसरमा सात दस्तावेजमा हस्ताक्षर भई आदान प्रदान भएको संसदमा जानकारी गराउनु भयो । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २२२ बमोजिम सार्वजनिक महत्वको विषयमा जानकारी दिनुहुँदै नेपाल भारत पारवाहन सन्धि समेत भएको बताउनु भयो ।(रासस)



















आफ्नो प्रतिकृया दिनुहोस्