चितवन, ३० असार : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा रहेको मिटरब्याजी विरुद्धको विधेयक नै अघि बढाइने बताउनु भएको छ । प्रेस सेन्टर नेपाल, चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संसदमा रहेको विधेयकलाई नै अघि बढाउने प्रक्रियामा छलफल भइरहेको बताउनु भयो ।
उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “हामीले मिटरब्याजी विरुद्धको पुरानो विधेयकलाई नै अघि बढाउन लागिरहेका छौँ , छिट्टै विधेयक पारित गर्ने स्थितिमा सरकार पुग्छ ।” संसद् अवरोधका कारण विधेयक पारित हुन नसकेको उल्लेख गर्दै उहाँले अब संसद् सञ्चालन हुने बित्तिकै यसलाई पारित गरिने बताउनुभयो । “प्रतिपक्षी पनि विधेयकको पक्षमा हुनुहुन्छ । यसलाई हामी चाँडै संसद्बाट पारित गर्छौं”, उहाँले भन्नुभयो ।
सरकारले संसदमा दर्ता गराएको विधेयकको विषयमा दलहरुसँग छलफल भइरहेको उप-प्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । मिटरब्याजी विरुद्धको उजुरी नलिने र छानबिनका क्रममा पीडितको पक्षमा न्याय हुने काम नरोकिने उहाँको भनाइ छ । विधेयकलाई ऐनका रुपमा लैजान मिल्दैन कि भन्ने चर्चा परिचर्चा भइरहेको उल्लेख गर्दै उहाँले संवेदनशील मुद्दामा विधेयक चाँडो पास गर्नुपर्ने बताउनु भयो ।
उप-प्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “संवेदनशील मुद्दामा कानुनी ग्याप लामो राख्न नमिल्ने भएकाले संसद् खुल्दा पारित हुने गरी काम अघि बढेको छ ।” ललिता निवास प्रकरणका सम्बन्धमा उहाँले भन्नुभयो, “कस्लाई पहिला पक्राउ गर्ने, पहिला कस्लाई अनुसन्धान गर्ने, अभियोजन दर्ता गर्ने भनेर व्यक्ति हेरेर किटान गर्ने र प्रक्रिया अघि बढाउने गर्दैनौँ ।”
प्रहरीले तथ्य र प्रमाणका आधारमा अनुसन्धान गर्ने उहाँको भनाइ थियो । “अनुसन्धानका लागि प्रहरी संयन्त्रलाई दबाब दिन मिल्दैन र दिदैनौं ” , उप-प्रधानमन्त्री श्रेष्ठले भन्नुभयो– उहाँले थप्नुभयो, “हामीले हस्तक्षेप मुक्त भएर अनुसन्धान गरेर अपराधीलाई दायरामा ल्याउन भनेका छौँ ।”(रासस)



















आफ्नो प्रतिकृया दिनुहोस्