२८ भदौ, शुक्ल द्वितीया,काठमाडौँ। नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ तर्फ प्रस्थान गर्नुभएको छ। चीनको आधिकारिक निमन्त्रणामा सुरु भएको यो साताव्यापी भ्रमण आश्विन ३ गते सम्म जारी रहने छ।
बेइजिङमा आयोजना हुने प्रतिष्ठित ११औँ बेइजिङ सियाङसान फोरममा सहभागी हुनका लागि उहाँ त्यसतर्फ लाग्नु भएको हो। अन्तराष्ट्रिय सुरक्षा र रक्षा संवादका लागि महत्त्वपूर्ण मानिने यस मञ्चमा प्रधान सेनापति सिग्देलले विश्वका विभिन्न देशका सैन्य प्रतिनिधिहरूसँग क्षेत्रीय सुरक्षा, द्विपक्षीय हित तथा सैन्य सहकार्यका विषयमा विचार आदान-प्रदान गर्नु हुनेछ।

प्रस्थान गर्नु अघि जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले प्रधान सेनापतिलाई सम्मान गारत अर्पण गरेको थियो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ्ग केसीले उहाँको भव्य बिदाइ गर्नु भयो। भ्रमण अवधिभर प्रधान सेनापतिको अनुपस्थितिमा सेनाको दैनिक कार्यभार बलाधिकृत रथी केसीले नै कायममुकायम प्रधान सेनापतिको रूपमा सम्हाल्नु हुनेछ।
यस भ्रमणले नेपाल र चीनबीचको लामो समयदेखिको सैनिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै उच्चस्तरीय सैनिक कूटनीति मार्फत दुई देशबीचको रणनीतिक तथा पारस्परिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।




















आफ्नो प्रतिकृया दिनुहोस्