२७ भदौ, शुक्ल प्रतिपदा, जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका भित्र स्कुल पोसाकमै विद्यार्थीहरू होटल, रेस्टुरेन्ट तथा बालबालिकाका लागि उपयुक्त नमानिएका स्थानमा पुग्ने गरेको गुनासो बढे पछि यसको प्रभावकारी अनुगमन र नियन्त्रणको माग उठेको छ। केही व्यवसायीले आर्थिक लाभका लागि विद्यार्थीलाई सहजै ग्राहकका रूपमा स्वीकार गर्ने गरेको गुनासो पछि अभिभावक तथा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
यस विषयमा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले अनुगमन तथा आवश्यक कारबाहीका लागि पहल गरेको बताइएको छ। तर, नगर प्रमुखको स्पष्ट निर्देशन तथा चासो पछि पनि त्यसको कार्यान्वयनमा प्रशासनिक सक्रियता नदेखिएको शिक्षा नगर समितिका अध्यक्ष दिपक ठाकुरको गुनासो छ।
ठाकुरका अनुसार बालबालिकाको भविष्यसँग जोडिएको विषयमा उपमहानगरपालिकाको कर्मचारी प्रशासनले गम्भीरता नदेखाएको भन्दै यस अघि प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरि घिमिरे समक्ष ज्ञापन-पत्र समेत बुझाइएको थियो। माग कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी दिइए पनि हाल सम्म प्रभावकारी सुनुवाइ नभएको ठाकुरले बताएका छन्।

ठाकुरले नगर प्रमुखको निर्णय र निर्देशनलाई समेत प्रशासनिक तहबाट बेवास्ता गरिएको गुनासो गरेका छन्। कानून तथा नीति–नियम कार्यान्वयन गर्ने जिम्मेवारी बोकेको प्रशासनिक नेतृत्वबाट अपेक्षित सक्रियता नदेखिँदा नगरको शैक्षिक तथा सामाजिक वातावरणमा समेत त्यसको नकारात्मक प्रभाव पर्न सक्ने उनको भनाइ छ।
एकातर्फ नगर प्रमुख मनोज कुमार साह र शिक्षा नगर समितिका अध्यक्ष दिपक ठाकुर बालबालिकाको भविष्य जोगाउन तथा विकृति नियन्त्रणका लागि पहल गरिरहेको देखिए पनि अर्को तर्फ प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरि घिमिरेको असहयोग र सुस्त कार्यशैलीका कारण महत्वपूर्ण निर्णय तथा पहलहरू कार्यान्वयनमा जान नसकेको ठाकुरको आरोप छ।
यही कारण नगर प्रमुखको पहल र शिक्षा समितिको दबाबका बाबजुद कार्यान्वयन पक्ष कमजोर देखिनुले प्रमुख प्रशासकीय अधिकृत घिमिरेको प्रशासनिक भूमिका माथि प्रश्न उठेको छ।बालबालिकाको सुरक्षा र शैक्षिक वातावरणसँग जोडिएको विषयलाई कागजी निर्णयमै सीमित नराखी तत्काल प्रभावकारी अनुगमन, नियमन र आवश्यक कारबाही गर्नुपर्ने ठाकुरको माग छ।
अब उपमहानगरपालिकाले यस विषयमा ठोस कदम चाल्छ वा यो विषय पनि अन्य निर्णयझैँ कागजमै सीमित हुन्छ भन्नेमा अभिभावक तथा नगरवासीको ध्यान केन्द्रित भएको छ।




















आफ्नो प्रतिकृया दिनुहोस्