८ कार्तिक,(आशिष कुमार मण्डल),लोहारपट्टी,(महोत्तरी) : नेपालको तराई-मधेश क्षेत्रमा पछिल्लो समय स्थानीय तहको विकास, सामाजिक रूपान्तरण र सुशासनलाई लिएर नयाँ चेतना र बहसको लहर चलेको छ। यसै सन्दर्भमा महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाको सामाजिक-राजनीतिक परिदृश्य, इतिहासको विरासत र भावी नेतृत्वको दिशालाई लिएर स्थानीय स्तरमा व्यापक विमर्श सुरु भएको छ।
कुनै पनि समाजको समग्र समृद्धिका लागि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र सामाजिक न्यायलाई मूल आधार मानिन्छ। लोहारपट्टीको राजनीतिक तथा सामाजिक वृत्तमा अहिले पेसाले चिकित्सक, शैक्षिक अभियन्ता तथा बौद्धिक व्यक्तित्व डा. धिरेन्द्र साहको नाम भावी नेतृत्वका रूपमा प्रमुख चर्चाको विषय बन्नु यसै परिवर्तनकारी चेतनाको सङ्केत हो।
लोहारपट्टीको सामाजिक इतिहासलाई नियाल्दा यहाँको विकास प्रक्रिया कुनै आकस्मिक परिघटना नभई पुर्खाहरूको दायित्वबोध र सामाजिक योगदानको निरन्तरता हो भन्ने स्पष्ट हुन्छ। डा. साहको पारिवारिक पृष्ठभूमि लोहारपट्टीको सार्वजनिक जीवन सँग गहिरो गरी जेलिएको छ।
उनका पूर्वजहरूले यस क्षेत्रमा शिक्षाको ज्योति फैलाउन र विपन्न वर्गको उत्थानका लागि निःस्वार्थ रूपमा जग्गा दान गर्ने, विद्यालय स्थापना गर्ने तथा सार्वजनिक हितका काममा अग्रणी भूमिका निर्वाह गरेका थिए। इतिहासको यो पारिवारिक विरासतले डा. साहलाई स्थानीय समुदायसँग भावनात्मक र सांस्कृतिक रूपमा जोडेको छ। पुर्खाहरूले सुरु गरेको सामाजिक उत्तरदायित्वको परम्पराले उनलाई व्यक्तिगत पेसागत सफलताभन्दा माथि उठेर गाउँ र समाजको सेवामा समर्पित हुन निरन्तर प्रेरणा दिएको देखिन्छ।
वर्तमान समयमा डा. साहको सार्वजनिक पहिचान र योगदान विशेष गरी शैक्षिक क्षेत्रको आधुनिकीकरण र पूर्वाधार विकासमा प्रकट भएको छ। भेरुखी साह माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा उनले खेलेको नेतृत्वदायी भूमिका अहिले स्थानीय तहमा उदाहरण बनेको छ।
सरकारी निकायहरू सँगको निरन्तर समन्वय, प्रशासनिक अड्चनहरूको व्यवस्थापन र विद्यालयको आवश्यकता लाई स्पष्ट रूपमा प्रस्तुत गर्ने डा. साहको कार्यकुशलताकै कारण नेपाल सरकारको विशेष कार्यक्रम अन्तर्गत करिब ६ करोड रुपैयाँ बराबरको भौतिक पूर्वाधार विकास योजना स्वीकृत भई अघि बढेको छ। आधुनिक भवन, प्रयोगशाला र व्यवस्थित कक्षा कोठा निर्माणको यो पहलले लोहारपट्टीका बालबालिकाहरूलाई गुणस्तरीय र सर्वसुलभ शिक्षा पाउने वातावरण तयार गरिरहेको छ।
शिक्षाका साथसाथै स्वास्थ्य सेवा र मानवीय संवेदनाका क्षेत्रमा डा. साहको सक्रियता उत्तिकै महत्त्वपूर्ण छ। पेसाले चिकित्सक भएकाले उनले स्वास्थ्य क्षेत्रलाई केवल आम्दानीको माध्यम नबनाई जनसेवा र सामाजिक उत्तरदायित्वको सशक्त औजारका रूपमा प्रयोग गर्दै आएका छन्।
महँगो हुँदै गएको आधुनिक स्वास्थ्य सेवाका कारण आर्थिक रूपमा कमजोर र गरिब परिवारहरूले अकालमा दु:ख पाउने वा उपचारबाट वञ्चित हुनु पर्ने बाध्यतालाई सम्बोधन गर्दै उनले निःशुल्क तथा सहुलियतपूर्ण उपचारको व्यवस्था मिलाउँदै आएका छन्। गाउँका विपन्न नागरिकलाई आकस्मिक चिकित्सा सहयोग पुर्याउने र स्वास्थ्य सचेतना फैलाउने कार्यले उनलाई सर्वसाधारणको माझ एक भरोसायोग्य व्यक्तिका रूपमा स्थापित गरेको छ।
लोहारपट्टी नगरपालिकालाई एउटा आधुनिक, समृद्ध र सुशासित नगरका रूपमा रूपान्तरण गर्न अब परम्परागत शैली भन्दा फरक, सक्षम र दूरदर्शी नेतृत्वको आवश्यकता महसुस गरिएको छ। नगरको विकासका लागि स्वास्थ्य सेवाको पहुँच विस्तार, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, पारदर्शी योजना चयन र स्थानीय रोजगारी सिर्जना प्रमुख मुद्दा हुन्।डा. साहको चिकित्सकीय पेसागत अनुभव, शैक्षिक व्यवस्थापनमा देखाएको कार्यकुशलता र ऐतिहासिक पारिवारिक विरासतको सङ्गमले लोहारपट्टीको भावी नेतृत्वको बहसमा उनलाई मजबुत दावेदारका रूपमा उभ्याएको छ।
यद्यपि, नागरिकहरूले नेतृत्वको अन्तिम मूल्याङ्कन गर्दा केवल चर्चाका आधारमा नभई विगतको निष्ठा, भावी कार्ययोजना, आर्थिक पारदर्शिता र सबै समुदायलाई समेट्ने प्रतिबद्धतालाई नै मूल कसी बनाउने छन्। समग्रमा, डा. धिरेन्द्र साहको उपस्थिति र उनी वरिपरि भइरहेको यो सकारात्मक बहसले लोहारपट्टीको आगामी विकास र नेतृत्वको दिशालाई एक नयाँ र रचनात्मक मोड दिने निश्चित छ।




















आफ्नो प्रतिकृया दिनुहोस्