३१ असोज,असोज शुक्ल सप्तमी,काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बडा दसैँ २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, आरोग्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल मार्फत नेपाली जनतालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बडा दसैँले हरेक नेपालीको घरआँगनमा उत्सव, उमङ्ग र आत्मीयता ल्याउने विश्वास व्यक्त गरेका हुन्।
प्रधानमन्त्री शाहले फूलपातीको अवसरमा दिएको सन्देशमा बडादसैँ नेपाली समाजको धार्मिक, सामाजिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण पर्व रहेको उल्लेख गरेका छन्। टीका र जमरा ग्रहण गरी ठूलाबाट आशीर्वाद लिने तथा सानालाई माया गर्ने परम्पराले नेपाली समाजको पारिवारिक आत्मीयता, सम्मान र सद्भावलाई प्रतिबिम्बित गर्ने उनको भनाइ छ।
देश भित्रका विभिन्न स्थानबाट मात्र नभई विदेश बाट समेत नेपालीहरू दसैँका अवसरमा घर फर्कने, परिवार तथा आफन्तसँग भेटघाट गर्ने र खुसी साटासाट गर्ने परम्पराले यस पर्वलाई अझ विशेष बनाएको प्रधानमन्त्री शाहले बताएका छन्।
दसैँ नेपालीहरूको प्रमुख चाडका रूपमा मात्र नभई आर्थिक गतिविधिका दृष्टिले समेत महत्वपूर्ण पर्व हो। बालबालिका देखि वृद्धवृद्धा सम्म सबैका लागि दसैँले छुट्टै उत्साह र उमङ्ग ल्याउने प्रधानमन्त्री शाहको सन्देशमा उल्लेख छ। चाडपर्वले पारिवारिक सम्बन्ध, सामाजिक सद्भाव र आपसी आत्मीयतालाई थप मजबुत बनाउने विश्वास पनि उनले व्यक्त गरेका छन्।
विगतमा विनाशकारी भूकम्प, कोभिड–१९ महामारी तथा विभिन्न तनावपूर्ण परिस्थितिका बीच पनि नेपालीहरूले आफ्नो धार्मिक, सांस्कृतिक तथा सामाजिक परम्पराको संरक्षण गर्दै चाडपर्व मनाउँदै आएको प्रधानमन्त्री शाहले स्मरण गरेका छन्।
यस वर्ष रसुवा, नुवाकोट, गोरखा लगायतका क्षेत्रमा भएका विनाशकारी घटनाको शोक कायमै रहेका बेला दसैँ आएको उल्लेख गर्दै उनले विपद्मा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। शोक सन्तप्त परिवार प्रति गहिरो समवेदना व्यक्त गर्दै विस्थापित नागरिकको पुन:स्थापनाका लागि सरकारले तदारुकताका साथ काम गरिरहेको जानकारी समेत उनले दिएका छन्।
दसैँ असत्य माथि सत्य तथा आसुरी प्रवृत्ति माथि दैवी शक्तिको विजयको प्रतीक समेत हो। यही सन्देशलाई आत्मसात् गर्दै सत्यको बाटोमा अघि बढ्न र समाजमा रहेका नकारात्मक प्रवृत्तिको अन्त्य गर्न प्रधानमन्त्री शाहले सबैमा आह्वान गरेका छन्। प्रत्येक व्यक्तिले आफू भित्रको महिषासुर र रावणलाई चिन्न तथा त्यसलाई पराजित गर्न सक्नुपर्ने उनको भनाइ छ। काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कार जस्ता मानव दु:खका कारणमाथि विजय प्राप्त गर्न सकियोस् भन्ने शुभेच्छा पनि उनले व्यक्त गरेका छन्।
चाडपर्वको समयमा समेत रोजगारी तथा आर्थिक बाध्यताका कारण लाखौँ नेपाली विदेशिनु पर्ने अवस्था प्रति प्रधानमन्त्री शाहले चिन्ता व्यक्त गरेका छन्। परिवारसँग दसैँ मनाउन घर फर्कन चाहँदा चाहँदै पनि परदेशमै बस्न बाध्य नेपालीको अवस्था बदल्न सबैको सामूहिक प्रयास आवश्यक रहेको उनको सन्देशमा उल्लेख छ। देशको समृद्धि र आमनागरिकको सुखद जीविकाका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहले बताएका छन्।
आर्थिक अभावका कारण दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने उल्लेख गर्दै प्रधानमन्त्री शाहले आर्थिक सम्पन्नता सँगै चाडपर्वको रौनक पनि बढ्ने बताएका छन्। देशलाई सुशासनको मार्गमा अघि बढाउन वर्तमान सरकार निरन्तर क्रियाशील रहेको उनको भनाइ छ।
दसैँको अन्तर्यमा रहेको सत्यको विजयलाई आत्मसात् गर्दै सत्य र सुशासनको बाटोमा अघि बढ्न माता दुर्गा भवानीको सत्प्रेरणा र कृपा सबैमा रहोस् भन्ने शुभेच्छा सहित प्रधानमन्त्री शाहले सम्पूर्ण नेपालीमा बडादसैँको अवसरमा आरोग्य, सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना दिएका छन्। उनले सभ्य र भव्य रूपमा दसैँ मनाउन आग्रह गर्दै “माता दुर्गाभवानीले हामी सबैको रक्षा गरून्, सबैको जय होस्” भन्ने शुभकामना व्यक्त गरेका छन्।




















आफ्नो प्रतिकृया दिनुहोस्