२२ असोज, असोज कृष्ण त्रयोदशी,जनकपुर : भारतीय चलचित्र क्षेत्रका प्रभावशाली अभिनेता तथा निर्देशक नाना पाटेकरको ७५ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गोवाको डोना पाउला स्थित निवासमा उहाँलाई स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल पुर्याइएको थियो। चिकित्सकहरूले करिब ४५ मिनेटसम्म सीपीआर सहित बचाउने प्रयास गरे पनि सफल हुन सकेन र बिहान करिब ५:२० बजे उहाँलाई मृत घोषित गरिएको थियो। उहाँको निधनको कारण कार्डियाक अरेस्ट बताइएको छ।
नाना पाटेकरका छोरा मल्हार पाटेकरले पनि उहाँको निधनको पुष्टि गरेका छन्। निधनको खबर सार्वजनिक भएपछि भारतीय चलचित्र क्षेत्रसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूले शोक व्यक्त गरेका छन्। पाटेकरको निधनले हिन्दी तथा मराठी चलचित्र क्षेत्रमा लामो समय देखि प्रभाव जमाउँदै आएको एउटा विशिष्ट अभिनय अध्यायको अन्त्य भएको छ।
विश्वनाथ पाटेकरका रूपमा जन्मिएका नाना पाटेकरले मराठी रंगमञ्चबाट आफ्नो कलायात्रा सुरु गर्नु भएको थियो। सन् १९७८ मा हिन्दी चलचित्र ‘गमन’ बाट फिल्मी यात्रामा प्रवेश गर्नुभएका उहाँले करिब पाँच दशक लामो करियरमा हिन्दी तथा मराठी चलचित्रमा दर्जनौँ प्रभावशाली भूमिका निर्वाह गर्नुभयो। गम्भीर चरित्रदेखि खलनायक, सामाजिक पात्र र हास्य भूमिकासम्म उहाँले आफ्नो विशिष्ट संवाद शैली, आवाज र अभिव्यक्तिका माध्यमबाट अलग पहिचान बनाउनुभएको थियो।
‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘प्रहार’, ‘अग्निसाक्षी’, ‘खामोशी: द म्युजिकल’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘राजनीति’, ‘ट्याक्सी नम्बर ९२११’, ‘वेलकम’ तथा मराठी चलचित्र ‘नटसम्राट’ लगायतका चलचित्रमा उहाँको अभिनय विशेष चर्चित रह्यो। सन् १९९१ मा प्रदर्शनमा आएको ‘प्रहार: द फाइनल अट्याक’ उहाँले निर्देशन तथा लेखन समेत गर्नु भएको महत्वपूर्ण चलचित्र हो।
अभिनयका लागि नाना पाटेकरले तीन पटक राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गर्नुभएको थियो। भारत सरकारले सन् २०१३ मा उहाँलाई प्रतिष्ठित पद्मश्री सम्मानबाट समेत सम्मानित गरेको थियो। पर्दामा आफ्नो सशक्त उपस्थितिका कारण मात्र होइन, चलचित्रबाहिरको सामाजिक योगदानका कारण पनि उहाँको छुट्टै पहिचान थियो।
महाराष्ट्रका किसान तथा आर्थिक संकटमा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले नाना पाटेकरले अभिनेता मकरन्द अनासपुरे सँग मिलेर सन् २०१५ मा नाम फाउन्डेसन स्थापना गर्नुभएको थियो। संस्था मार्फत खडेरी, ऋण तथा आर्थिक समस्याबाट प्रभावित किसान परिवारलाई सहयोग गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएको थियो।
नाना पाटेकरको अन्तिम संस्कार पुणेमा पूर्ण राजकीय सम्मानका साथ गरिने जानकारी महाराष्ट्र सरकारले दिएको छ। उहाँको निधन प्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित चलचित्र क्षेत्रका विभिन्न कलाकार तथा सार्वजनिक व्यक्तित्वहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्। अभिनेता अक्षय कुमार लगायतले पाटेकरको विशिष्ट अभिनय क्षमता र भारतीय सिनेमामा उहाँले पुर्याएको योगदानको स्मरण गरेका छन्।
करिब पाँच दशक सम्म भारतीय चलचित्रमा आफ्नो छुट्टै अभिनय शैली स्थापित गरेका नाना पाटेकरको निधनसँगै हिन्दी तथा मराठी सिनेमाले एक प्रभावशाली कलाकार गुमाएको छ। उहाँका चरित्र, संवाद बोल्ने शैली र सामाजिक सरोकारसँग जोडिएको व्यक्तित्व लामो समयसम्म दर्शक र भारतीय चलचित्र इतिहासमा स्मरणीय रहनेछ।




















आफ्नो प्रतिकृया दिनुहोस्