१६ फागुन,काठमाडौं । कानुनका ठेली र अदालती बहसको व्यस्तताका बीचबाट एउटा प्रेमिल सिर्जना प्रस्फुटित भएको छ। सुनसरी स्थित सरकारी वकिल कार्यालयका प्रमुख केशव गौतमले रचना गर्नुभएको आधुनिक गीत ‘प्रेमकथा’ अहिले युट्युब र टिकटक जस्ता सञ्चार माध्यममा चर्चाको विषय बनेको छ। पेशाले सरकारी सेवामा रहे पनि साहित्य र संगीत प्रति विशेष रुचि राख्ने गौतमले युवा अवस्थामा हुने प्रेम, त्यसको स्थायित्व र विछोडका पलहरूलाई शब्दमा निकै कलात्मक ढंगले उतार्नु भएको छ।
‘कता गयौ तिमी कहाँ छौ, जहाँ छौ तिमी सधैँ खुसी हौ’ भन्ने मार्मिक बोलबाट सुरु हुने यस गीतले प्रेममा रहेका र प्रेमिल यादहरूमा डुबेका जोडीहरूको कथा भन्छ। गायन क्षेत्रमा **‘केपी सागर’** का नामले समेत चिनिने गौतमका धेरै गीत र कविताहरू डायरीमा सीमित भए पनि यो सार्वजनिक प्रस्तुतिले उहाँलाई गीतकारका रूपमा थप स्थापित गरेको छ। गीतमा चर्चित गायक सिडी विजय अधिकारीको सुमधुर स्वर रहेको छ भने राजकुमार बगरले यसलाई संगीतबद्ध गर्नुभएको छ।
गीतको भावले बितेका दिनको सम्झना र प्रेमिल सम्बन्धमा आउने उतारचढाव लाई कुशलतापूर्वक चित्रण गरेको छ। सम्बन्धमा हुने खटपट र त्यसपछिको विछोड कसरी ‘एकादेशको कथा’ बन्न पुग्छ भन्ने सार यसमा समेटिएको छ। गायक अधिकारीकै आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यसको भिडियोमा स्वयं गायक अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठको जीवन्त अभिनय देख्न सकिन्छ। सुन्दर दृश्यहरूको संयोजनले भिडियोलाई थप आकर्षक र सन्देशमूलक बनाएको छ।
पछिल्लो समय टिकटकमा यो गीत निकै लोकप्रिय बनेको छ, जहाँ धेरै प्रयोगकर्ताहरूले यसका शब्द र संगीतमा आफ्नो अभिनय प्रस्तुत गरिरहेका छन्। रचनाकार गौतमका अनुसार यो गीत समाजका भोगाइ, चलचित्र र उपन्यासहरूबाट प्रेरित भएर सिर्जना गरिएको हो। कानुनको कठोर संसारमा रहेर पनि यति नरम र भावुक शब्दहरू कोर्न सफल गौतमको यस प्रयासले धेरैको मन जितेको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्