१९ असोज,असोज कृष्ण दशमी,(आशिष कुमार मण्डल),जनकपुरधाम: नेपालमा लिङ्ग अनुपात (Sex Ratio) को बहस गर्दा समग्र जनसंख्या र जन्मदरको फरक पाटो बुझ्न आवश्यक छ। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २,९१,६४,५७८ मध्ये महिलाको संख्या १,४९,२५,१२८ (५१.०२%) र पुरुषको संख्या १,४२,३९,४५० (४८.९८%) रहेको छ। सतहमा हेर्दा महिलाको संख्या बढी देखिए पनि यो तथ्यांक पछाडि ठूलो संख्यामा पुरुष वैदेशिक रोजगारीमा हुनु र महिलाको औसत आयु बढी हुनु मुख्य कारण हो।
तर, जब हामी जन्मकालीन लिङ्ग अनुपात (Sex Ratio at Birth) हेर्छौँ, त्यहाँ डरलाग्दो असन्तुलन देखिन्छ। प्राकृतिक रूपमा प्रति १०० छोरी जन्मिँदा १०५ सम्म छोरा जन्मिनु सामान्य मानिए पनि नेपालका कतिपय क्षेत्र र अस्पतालका तथ्यांकमा प्रति १०० छोरी बराबर ११० भन्दा बढी छोरा जन्मिइरहेका छन्। यदि जन्मिने क्रममै छोरा र छोरीको सन्तुलन यसरी नै बिग्रँदै गयो भने आगामी पुस्तामा समाजले गम्भीर संकट भोग्नुपर्ने निश्चित छ।
इतिहासतिर फर्किएर हेर्ने हो भने, राजा-महाराजाको पालामा वा महायुद्धहरूको समयमा ठूलो संख्यामा पुरुषहरू युद्धमैदानमा मारिन्थे। त्यसबेला पुरुषको संख्या ह्वात्तै घट्ने र महिलाको संख्या बढी हुने गर्थ्यो। तर आधुनिक युगमा कुनै ठूलो युद्ध नभईकन पनि जन्मदरमै छोरीहरूको संख्या घट्नुको पछाडि मानिसहरूको परम्परागत, पितृसत्तात्मक र संकुचित सोच नै मुख्य जिम्मेवार छ।
यस समस्याको सबैभन्दा ठूलो व्यावहारिक कारण दाइजो प्रथा र आर्थिक बोझको त्रास हो। नेपालको विशेष गरी तराई-मधेस र सहरी क्षेत्रमा अझै पनि छोरीको विवाह गर्दा लाखौँ नगद, गाडी, गरगहना र सामान दिनुपर्ने डरले धेरै परिवारलाई छोरी जन्माउन हतोत्साहित गर्छ। “छोरा कमाएर खुवाउने सम्पत्ति हो, छोरी अर्काको घर जाने र दाइजोमा सम्पत्ति स्वाहा पार्ने दायित्व हो” भन्ने गलत सामाजिक मान्यताका कारण अभिभावकहरू छोराकै आशा गर्छन्। यसका साथै समाजमा व्याप्त बलात्कार, यौन हिंसा, र छाउपडी जस्ता कुप्रथाका कारण अभिभावकहरू छोरीको सुरक्षालाई लिएर सधैँ त्रसित रहन्छन्। “छोरी हुर्काउन गाह्रो छ, कतै केही भइहालेमा समाजले उल्टै बदनामी गर्छ” भन्ने व्यावहारिक चिन्ताले गर्दा मानिसहरू छोरी जन्माउन डराउने वातावरण बनेको छ।
अर्कोतर्फ, हाम्रो समाजमा सानैदेखि “छोरा नभई कुल-वंश अघि बढ्दैन” र “छोराले दागबत्ती नदिएसम्म मरेपछि स्वर्ग वा मोक्ष पाइँदैन” भन्ने अन्धविश्वास गहिरोसँग गाढिएको छ। धर्मशास्त्रका गलत व्याख्या र ढोगी सामाजिक मान्यताहरूले छोरालाई ‘मुक्तिदाता’ र छोरीलाई ‘पराई धन’को रूपमा प्रस्तुत गरे। वास्तवमा धर्म वा मोक्षको सम्बन्ध छोरा वा छोरीको लिङ्गसँग नभई व्यक्तिको कर्म र संस्कारसँग हुन्छ, तर यो बुझाइ समाजमा अझै व्यावहारिक बन्न सकेको छैन।
यही परम्परागत सोचलाई आधुनिक स्वास्थ्य प्रविधिले झन् मलजल गरिरहेको छ। गाउँ-गाउँ र सीमावर्ती क्षेत्रसम्म भिडियो एक्स-रे (USG) को पहुँच पुगेपछि नेपालको कानुनले गर्भको लिङ्ग पहिचान गर्नु र सोही आधारमा गर्भपतन गराउनुलाई कडा अपराध माने तापनि, लुकिछिपी लिङ्ग पहिचान गर्ने र छोरी भएको थाहा पाएपछि गैरकानुनी रूपमा भ्रूणहत्या (Female Foeticide) गर्ने धन्दा कायमै छ। अझ आजकल महँगी र व्यस्त जीवनशैलीका कारण मानिसहरू १ वा २ वटा मात्र सन्तान जन्माउन चाहन्छन्। जब सन्तानको संख्या सीमित गरिन्छ, तब “एउटै जन्माउने हो भने छोरा नै होस्” भन्ने मानसिकता झन् बलियो भएर आउँछ, जसले गर्दा छोरी जन्मिने सम्भावनालाई प्रविधिमार्फत रोक्ने प्रयास गरिन्छ।
छोरीको संख्या घट्दै जाँदा यसको सोझो असर वैवाहिक जीवन र सामाजिक ढाँचामा देखिन थालिसकेको छ। नेपालका धेरै गाउँ तथा सहरहरूमा विवाहका लागि उमेर पुगेका युवाहरूले केटी नपाउने व्यावहारिक समस्या सुरु भइसकेको छ र धेरै युवाहरू विवाहविहीन हुनु पर्ने अवस्था आउँदैछ। केटीको अभाव भएपछि टाढा-टाढाका दुर्गम क्षेत्र वा अन्य मुलुकबाट रकम तिरेर वा प्रलोभनमा पारेर दुलही ल्याउने गलत प्रवृत्ति बढ्ने, मानव बेचबिखन र कानुनी जटिलता निम्तिने तथा महिलाको संख्या कम हुँदा उनीहरूमाथि जबरजस्ती विवाह, अपहरण, र यौनजन्य अपराधहरू अझ बढ्ने खतरा रहन्छ।
त्यसैले सरकारले ल्याएका “बेटी बचाऊ, बेटी पढाऊ” जस्ता कार्यक्रमहरू कागजी र राजनीतिक नारामा मात्र सीमित नभई व्यावहारिक रूपमा लागू हुन आवश्यक छ। लिङ्ग पहिचान गरी भ्रूणहत्या गराउने क्लिनिक र डाक्टरहरूलाई कडा कानुनी कारबाही गरिनुपर्छ। छोरीलाई केवल शिक्षा मात्र होइन, आर्थिक रूपमा आत्मनिर्भर बनाउने र दाइजो प्रथालाई समाजबाट पूर्ण रूपमा बहिष्कार गर्ने अभियान चलाउनु पर्छ। जबसम्म समाजले छोरीलाई बोझ होइन, घर र देशको समान साझेदार मान्दैन, तबसम्म यो असन्तुलन र सामाजिक संकट हल हुन सक्दैन।




















आफ्नो प्रतिकृया दिनुहोस्