१२ असोज, असोज कृष्ण द्वितीया,जनकपुरधाम : विद्यालय सञ्चालन हुने समयमै निजी तथा गैर–दर्तावाला कोचिङ संस्थाहरूले कक्षा सञ्चालन गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न नेपालमा कडा नियमन र प्रभावकारी अनुगमन गर्नु पर्ने माग उठेको छ। विद्यालयको नियमित पठनपाठन प्रभावित हुन नदिन तथा विद्यार्थीलाई निर्धारित समयअनुसार विद्यालयमै अध्ययन गर्ने वातावरण सुनिश्चित गर्न विद्यालय सञ्चालन अवधिभर कोचिङ तथा ट्युसन कक्षा सञ्चालनमा रोक लगाउनुपर्ने आवश्यकता औँल्याइएको हो।
विद्यालय सञ्चालनकै समयमा निजी कोचिङ तथा ट्युसन कक्षा सञ्चालन हुँदा विद्यार्थीको नियमित उपस्थिति र शैक्षिक गतिविधिमा असर पर्न सक्ने देखिन्छ। बिहानदेखि साँझ सम्म लगातार कक्षा लिनु पर्ने अवस्थाले विद्यार्थीमा मानसिक दबाब र शारीरिक थकान बढ्नुका साथै अतिरिक्त क्रियाकलापका लागि समय समेत कम हुने गरेको गुनासो छ। अर्कोतर्फ, विद्यालयको नियमित शुल्क तिर्ने अभिभावक माथि अतिरिक्त शुल्कको भार थपिने गरेको छ।
कतिपय अवस्थामा शिक्षकहरूले आफू वा आफू सम्बद्ध कोचिङ सेन्टरमा विद्यार्थी आकर्षित गर्न नियमित कक्षामा पर्याप्त ध्यान नदिने तथा ट्युसन पढ्न दबाब दिने गरेको गुनासो समेत सुनिँदै आएको छ। यस्ता गतिविधिले शिक्षकको पेसागत मर्यादा र विद्यालयको शैक्षिक वातावरणमा प्रश्न उठाउने अवस्था सिर्जना गर्न सक्ने सरोकारवालाहरूको भनाइ छ।
भारत लगायत केही देशले कोचिङ संस्थाको सञ्चालनलाई व्यवस्थित गर्न विभिन्न नियमनकारी व्यवस्था अघि सारेका छन्। भारतमा कोचिङ संस्थासम्बन्धी निर्देशिका मार्फत उमेर सम्बन्धी मापदण्ड, विद्यालय समयसँग सम्बन्धित व्यवस्था तथा भ्रामक विज्ञापन नियन्त्रणका प्रावधान ल्याइएको छ। नेपालले पनि यस्ता अभ्यासलाई सन्दर्भका रूपमा लिएर विद्यालयमै शिक्षण/सिकाइलाई प्रभावकारी बनाउने तथा अध्ययनमा कमजोर विद्यार्थीका लागि विद्यालय परिसरमै उपचारात्मक कक्षाको व्यवस्था गर्ने विषयमा ध्यान दिनु पर्ने देखिन्छ।
नेपालमा विद्यालय शिक्षा व्यवस्थापनमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहेकाले नगरपालिका तथा गाउँपालिकाले आफ्नो क्षेत्र भित्र सञ्चालनमा रहेका ट्युसन तथा कोचिङ संस्थाको तथ्यांक अद्यावधिक गरी नियमित अनुगमन गर्नुपर्ने आवश्यकता छ। दर्ता वा अनुमति नलिई सञ्चालन भइरहेका तथा विद्यालय समयमै नियमविपरीत कक्षा सञ्चालन गर्ने संस्थालाई सम्बन्धित कानुनी प्रक्रिया अनुसार कारबाहीको दायरामा ल्याउनु पर्ने माग समेत उठेको छ।
सरकार तथा सम्बन्धित नियमनकारी निकायले कोचिङ सञ्चालन सम्बन्धी स्पष्ट नीति र मापदण्ड तयार गर्दा सञ्चालनको समयसीमा, दर्ता तथा अनुमति प्रक्रिया, शिक्षकको संलग्नता, भ्रामक विज्ञापन नियन्त्रण तथा नियम उल्लंघन गर्ने माथि हुने कारबाहीका प्रावधान स्पष्ट रूपमा समेट्न आवश्यक देखिन्छ।
विद्यालय सञ्चालन समयमा नियम विपरीत हुने कोचिङ तथा ट्युसन कक्षामाथि प्रभावकारी अनुगमन र नियमन गर्न सकेमा विद्यालयको नियमित पठनपाठनलाई व्यवस्थित बनाउन, विद्यार्थी माथिको अतिरिक्त शैक्षिक दबाब घटाउन तथा अभिभावकमाथिको अनावश्यक आर्थिक भार कम गर्न सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ।




















आफ्नो प्रतिकृया दिनुहोस्