१९ चैत,,धनुषा । आज देखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । जिल्लाभरका सबै परीक्षा केन्द्रहरूमा बिहान ८ बजे देखि शान्तिपूर्ण र व्यवस्थित वातावरणमा परीक्षा सञ्चालन भइरहेको छ । विगतका वर्षहरूको तुलनामा यस वर्ष परीक्षा व्यवस्थापनमा उल्लेखनीय सुधार देखिएको छ ।
पहिले मधेश प्रदेशमा चिट चोरी, प्रश्नपत्र बाहिरिने जस्ता समस्या बारम्बार देखिँदै आए पनि यस वर्ष त्यस्तो गतिविधि पूर्ण रूपमा नियन्त्रणमा आएको देखिएको छ ।

प्रदेश सरकारले लागू गरेको नयाँ व्यवस्थाअनुसार परीक्षा केन्द्रको २०० मिटर आसपास अभिभावक वा अन्य व्यक्तिको उपस्थितिमा कडाइ गरिएको छ । उक्त नियमको प्रभावस्वरूप परीक्षा केन्द्र बाहिर सुरक्षाकर्मी बाहेक अरूको उपस्थिति देखिएको छैन ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार सरकारी मापदण्ड अनुसार यस वर्षको परीक्षा अनुशासित र प्रभावकारी ढंगले सञ्चालन भइरहेको छ । उनले केन्द्राध्यक्षले समेत मोबाइल फोन लैजान नपाउने व्यवस्था गरिएको बताए । साथै, विद्यार्थीले कुनै पनि प्रकारका डिजिटल उपकरण मोबाइल, स्मार्ट घडी लगायत ल्याएको पाइए तत्काल जफत गर्ने निर्देशन दिइएको जानकारी दिए ।
यस वर्ष देखि परीक्षा केन्द्रमै उत्तर पुस्तिका परीक्षण गर्ने तयारी पनि गरिएको छ । सो सम्बन्धमा आवश्यक निर्णयका लागि आज दिउँसो सरोकारवाला निकाय सँग छलफल गरिने प्रमुख जिल्ला अधिकारी लुइँटेलले बताए ।धनुषामा यस वर्ष १३ हजार २०० भन्दा बढी विद्यार्थी एसइई परीक्षामा सहभागी भएका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्