२९ असार,जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले मात्र होइन, अब दिगो विकास र आधुनिक सहरी व्यवस्थापनको क्षेत्रमा पनि एउटा उदाहरणीय सहर बन्ने सम्भावनाको सँघारमा उभिएको छ । सहरको जनसंख्या वृद्धि र बढ्दो पर्यटकीय चापसँगै निम्तिएको फोहर व्यवस्थापनको चुनौतीलाई ऊर्जा र आम्दानीको स्रोतमा बदल्न सकिने प्रबाशस्त आधारहरू फेला परेका छन् ।
यसै सन्दर्भमा, वेस्ट-टु-ऊर्जा (Waste-to-Energy) क्षेत्रका विज्ञ आशिष कुमार मण्डलले अघि सार्नुभएको योजना र स्थलगत तथ्याङ्कले जनकपुरधाममा जैविक फोहर (Food Waste) बाट बायोग्यास र प्राङ्गारिक मल उत्पादनको प्रगाढ सम्भावनालाई उजागर गरेको छ ।
विज्ञ मण्डलको अध्ययन र तथ्याङ्क अनुसार जनकपुरधामका कुल २५ वडाहरू मध्ये वडा नम्बर १ देखि ११ सम्मको मुख्य सहरी क्षेत्रबाट मात्रै दैनिक करिब ५ टन (५,००० केजी) जैविक फोहर सङ्कलन गर्न सकिने प्रारम्भिक अनुमान छ । यस योजना अन्तर्गत सहरका करिब २०० साना-ठूला होटल तथा रेस्टुरेन्ट, २५०० भन्दा बढी घरधुरी, र स्थानीय हाटबजार तथा फलफूल बिक्री केन्द्रलाई प्राथमिक लक्ष्य बनाइएको छ ।
ती क्षेत्रबाट निस्कने कुहिने फोहरलाई मात्रै सही तरिकाले सङ्कलन गर्ने हो भने बायोग्यास प्लान्टका लागि आवश्यक पर्ने कच्चा पदार्थ तत्कालै पर्याप्त मात्रामा उपलब्ध हुने देखिन्छ । यो ५ टन फोहरलाई प्रशोधन गर्दा दैनिक रूपमा व्यवसायिक सिलिन्डरमा भर्न मिल्ने पकाउने ग्यास (CBG) र कृषिका लागि अति उपयोगी उच्च गुणस्तरको जैविक मल (Slurry) उत्पादन गर्न सकिन्छ ।

यस बहुआयामिक परियोजनाको सफल कार्यान्वयनका लागि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख (मेयर) मनोज कुमार साहप्रति स्थानीय स्तरमा ठूलो भरोसा र आशा राखिएको छ । नगर प्रमुख साहले जनकपुरधामको विकास र सौन्दर्यीकरणका लागि देखाउँदै आउनुभएको तदारुकतालाई हेर्दा, सहरको फोहरलाई सदाका लागि व्यवस्थापन गर्ने र स्थानीयस्तरमै हरित ऊर्जा उत्पादन गर्ने यो दूरगामी कार्यमा उहाँले पक्कै पनि सकारात्मक कदम चाल्नु हुनेछ र आवश्यक नीतिगत तथा व्यावहारिक सहयोग उपलब्ध गराउनुहुनेछ भन्ने विश्वास गर्न सकिन्छ । स्थानीय सरकारको नेतृत्वदायी भूमिका र सहयोग विना यस्ता ठूला पूर्वाधार निर्माण प्राय : असम्भव हुन्छन् ।
यस प्लान्टको निर्माण र प्राविधिक तयारीको पाटोमा आफू निरन्तर लागि परेको र आवश्यक पहलकदमी लिइरहेको विज्ञ आशिष कुमार मण्डल बताउनु हुन्छ । उहाँका अनुसार यो परियोजनालाई अझ बृहत् र दिगो बनाउन धनुषा जिल्लाका अन्य छिमेकी नगरपालिकाहरूसँग समेत समन्वय र सहकार्य गर्न आवश्यक छ । यदि वरपरका नगरपालिकाहरूबाट पनि उत्पादित जैविक फोहरलाई एकीकृत (Centralized) रूपमा यस प्लान्टमा ल्याउने वातावरण बन्ने हो भने, यसको उत्पादन क्षमता दोब्बर-तेब्बर हुनुका साथै सम्पूर्ण जिल्लाकै फोहर व्यवस्थापनको लागत घट्नेछ । यसले गर्दा मधेश प्रदेशमै एउटा ठूलो ‘वेस्ट-टु-एनर्जी हब’ स्थापना भई राष्ट्रिय अर्थतन्त्र र जैविक कृषिको क्षेत्रमा ठूलो क्रान्ति ल्याउन सकिन्छ ।
यस्तै आधुनिक कृषि बारे जानकार स्थानीय बिरु मंडलले बताए अनुसार जनकपुरधामको ‘वेस्ट-टु-एनर्जी’ परियोजनाले सहरको फोहर मात्र व्यवस्थापन गर्दैन, बरु यसले मधेशको कृषिलाई पनि आधुनिक र अन्तर्राष्ट्रिय स्तरको बनाउने एउटा नयाँ बाटो खोल्छ । नगर प्रमुख साहको नेतृत्व र मण्डल द्वयको प्राविधिक पहलमा जनकपुरधामले पर्यावरण संरक्षण र कृषि समृद्धिमा एउटा नयाँ इतिहास रच्ने निश्चित छ ।
उनले भने, म नगर प्रमुख मनोज कुमार साह ज्यू लाई के अनुरोध गर्छु भने, यस परियोजनाको प्राविधिक पाटोमा मात्र होइन, यसको ‘कृषि-सम्बन्ध’ (Agriculture-Linkage) र किसानहरूसम्म पुग्ने वितरण प्रणालीमा पनि विशेष ध्यान दिनुस् । हामीले यो परियोजना मार्फत जनकपुरधामलाई मात्र होइन, सिंगो मधेश प्रदेशका किसानहरूलाई पनि आधुनिक र समृद्ध बनाउन सक्छौँ । यो परियोजनामा मेरो अन्तर्राष्ट्रिय अनुभव र ज्ञान साझा गर्न म सधैँ तयार छु ।”
अन्त्यमा, फोहरलाई सराप होइन, बरु एउटा बहुमूल्य स्रोतका रूपमा स्विकार्ने समय आइसकेको छ । नगर प्रमुख मनोज कुमार साहको सकारात्मक नेतृत्व, विज्ञ आशिष कुमार मण्डलको प्राविधिक पहल र निजी क्षेत्रको लगानीलाई सार्वजनिक-निजी साझेदारी (PPP) मोडेलमा जोड्न सकिएमा जनकपुरधामले पर्यावरण संरक्षण र नवीकरणीय ऊर्जा उत्पादनमा सिंगो देशलाई नयाँ मार्गनिर्देश गर्ने छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्