१० भदौ,(साउन शुक्ल त्रयोदशी),काठमाडौँ : बुधबार बिहान ८:४० बजे रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका तटीय क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। भोटेकोशी र त्रिशूली नदी किनारका बस्तीहरूमा आएको यस प्राकृतिक विपद्का कारण हाल सम्म ५० जना भन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ।
विपद्को खबर प्राप्त हुना साथ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सम्पूर्ण सरकारी संयन्त्रलाई परिचालन गरी उद्धार कार्यको नेतृत्व गरि रहनु भएको छ। प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सुरक्षा निकाय र सम्बन्धित मन्त्रालयहरूसँग निरन्तर समन्वय गर्दै उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिनु भएको छ।
प्रधानमन्त्री शाहको निर्देशनमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका हजारौँ जनशक्ति प्रभावित क्षेत्रमा खटिएका छन्। हाल सम्म सेनाको हेलिकप्टर मार्फत २५० भन्दा बढी नागरिकको उद्धार गरिएको छ भने रातभरि नै खोज तथा उद्धार कार्य जारी रहने छ। प्रधानमन्त्री शाहले निजी हेलिकप्टर कम्पनीहरू लाई समेत ‘स्ट्यान्डबाइ’ रहन र आवश्यक पर्दा तत्काल परिचालन हुन निर्देशन दिनु भएको छ।
घाइतेहरूको उपचारका लागि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको छ भने उपत्यकाका अन्य अस्पतालहरूलाई पनि तयारी अवस्थामा राखिएको छ। प्रभावित क्षेत्रमा चिकित्सकसहितको मेडिकल टोली, औषधि र स्वास्थ्य सामग्री पठाइ सकिएको छ। नेपाल स्काउट, रेडक्रस र विश्व स्वास्थ्य संगठनसँगको समन्वयमा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाइएको छ।
यसैबीच, पीडितहरूको उद्धार, राहत र पुनर्वस्थापना कार्यलाई थप बल पुर्याउन सरकारले ‘प्रधानमन्त्री राहत कोष’ र ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा सहयोग गर्न आह्वान गरेको छ। सरकारले सहयोगका लागि विभिन्न आधिकारिक बैंक खाता विवरणहरू समेत सार्वजनिक गरेको छ।
प्रधानमन्त्री शाहले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै भन्नुभयो, “यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ साथमा छ।” उहाँले तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा रहन र आधिकारिक निकायको सूचनालाई मात्र विश्वास गर्न आग्रह गर्नुभएको छ।
उद्धार र राहत सम्बन्धी थप जानकारी तथा सहयोगका लागि १२३४, १०० र ११११ नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ। सरकारले बाढीबाट भत्किएका सडक, पुल र भौतिक संरचनाहरूको पुनर्निर्माण गरी जनजीवनलाई छिटो भन्दा छिटो सामान्य अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्