असोज ९ गते शुक्रबार देखि असोज ११ गते आइतबार सम्म देशका विभिन्न स्थानमा भारी देखि अति भारी वर्षाको पूर्वानुमान, बाढी, पहिरो र डुबानको जोखिम प्रति विशेष सतर्कता अपनाउन अनुरोध
७ असोज,भदौ शुक्ल द्वादशी, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबार देखि असोज ११ गते आइतबार सम्म भारी देखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई सचेत रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गर्नु भएको छ। बुधबार असोज ७ गते सामाजिक सञ्जाल मार्फत अपिल जारी गर्दै उहाँले सम्भावित बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम प्रति सतर्क रहन अनुरोध गर्नु भएको हो।
मौसम विज्ञान विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी देखि अति भारी वर्षा तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ। यसका कारण विभिन्न क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र यातायातमा अवरोध आउन सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
प्रधानमन्त्री शाहले पानी परिरहेको तथा रातिको समयमा सके सम्म राजमार्गमा यात्रा नगर्न, नदी तथा खोला नजिक र जोखिमयुक्त क्षेत्रमा सतर्क रहन अनुरोध गर्नु भएको छ। साथै, मौसम सुधार नभए सम्म ट्रेकिङ तथा हिमाली यात्रा स्थगित वा पुनर्विचार गर्न सुझाव दिइएको छ। उहाँले मौसम विज्ञान विभाग र स्थानीय प्रशासनका सूचनाहरू नियमित रूपमा हेर्न तथा सम्बन्धित निकायको निर्देशन पालना गर्न आग्रह गर्दै सम्भावित विपद् न्यूनीकरणका लागि सरकारी निकायलाई आवश्यक तयारी र समन्वय गर्न अनुरोध गर्नु भएको छ।




















आफ्नो प्रतिकृया दिनुहोस्