जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहार अर्थात् यमपञ्चकको पहिलो दिन आज शनिबार देशभर काग तिहार तथा धनवन्तरी जयन्ती विभिन्न धार्मिक विधि र परम्परा अनुसार मनाइँदै छ। विक्रम संवत् २०८३ साल कार्तिक २१ गते अर्थात् नोभेम्बर ७ तारिखका दिन यी दुवै पर्व परेको हो।
तिहारको पहिलो दिनका रूपमा मनाइने काग तिहारमा बिहानै कागको पूजा आराधना गरी मिठा खानेकुरा खुवाउने परम्परा छ। हिन्दु धार्मिक मान्यता अनुसार कागलाई यमराजको दूतका रूपमा लिइन्छ। कागले यमराज समक्ष शुभ समाचार पुर्याओस् भन्ने विश्वासका साथ यस दिन कागलाई सम्मानपूर्वक पूजा गरी खानेकुरा अर्पण गर्ने चलन रहिआएको छ।
कागलाई प्रकृतिको सफाइमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पक्षीका रूपमा समेत लिइन्छ। यस पर्वले मानिस र प्रकृतिबीचको सम्बन्ध तथा चराचुरुङ्गी प्रतिको सम्मान र सह-अस्तित्वको सन्देश समेत दिने गर्दछ।
यसै अवसरमा आज भगवान् धनवन्तरीको जन्मजयन्ती तथा आरोग्यता दिवस पनि मनाइँदै छ। आयुर्वेद चिकित्सा पद्धतिका प्रवर्तकका रूपमा पूजिने भगवान् धनवन्तरीको उत्पत्ति भएको स्मरणमा प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन धनवन्तरी जयन्ती मनाउने धार्मिक परम्परा छ।
धार्मिक ग्रन्थहरूमा समुद्र मन्थनका क्रममा भगवान् धनवन्तरी अमृत कलशसहित प्रकट भएको उल्लेख पाइन्छ। आयुर्वेद तथा प्राकृतिक उपचार पद्धतिको महत्त्वलाई उजागर गर्ने यस दिन आयुर्वेद चिकित्सक तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित संस्थाहरूले भगवान् धनवन्तरीको पूजा आराधना सहित विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन्। नेपालमा विसं २०५६ देखि धनवन्तरी जयन्तीलाई आरोग्यता दिवसका रूपमा पनि मनाउन थालिएको हो।
यस वर्ष तिथिको घटबढका कारण धनतेरस तथा यमदीपदान शुक्रबार नै परेको थियो भने सूर्योदयकालमा त्रयोदशी तिथि परेकाले आज शनिबार काग तिहार र धनवन्तरी जयन्ती मनाइएको हो।
काग तिहारसँगै सुरु भएको यमपञ्चकले अब घरघरमा दीपावली, पूजा आराधना, देउसी–भैलो र पारिवारिक भेटघाटको वातावरणलाई थप उत्साहपूर्ण बनाउनेछ। तिहारले धार्मिक आस्था, सांस्कृतिक परम्परा, पारिवारिक आत्मीयता तथा आपसी सद्भावलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ।
जनकपुर खबर परिवार सम्पूर्ण नेपालीमा काग तिहार तथा धनवन्तरी जयन्तीको हार्दिक शुभकामना व्यक्त गर्दछ।




















आफ्नो प्रतिकृया दिनुहोस्