१२ चैत,जनकपुरधाम : हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज देशभर नवदुर्गा भगवतीको पूजा–आराधना गर्दै श्रद्धापूर्वक मनाइँदै छ ।चैते दशैँमा अष्टमी र नवमीलाई विशेष महत्वका साथ मनाइन्छ । अष्टमीका दिनलाई चैते दशैँका रूपमा लिइन्छ भने नवमीलाई त्रेता युगमा भगवान रामको जन्म भएको विश्वासका आधारमा राम नवमीको रूपमा मनाइने परम्परा रहेको छ ।
यस अवसरमा राजधानी काठमाडौं सहित देशका विभिन्न शक्ति पीठहरूमा बिहानै देखि भक्तजनको भीड लागेको छ । गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालीकास्थान, बज्रयोगिनी लगायतका मन्दिरहरूमा दर्शनार्थीको उल्लेख्य उपस्थिति देखिएको छ ।
यसै बीच, बढ्दो भीड व्यवस्थापनलाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । मन्दिर परिसर तथा भीडभाड हुने स्थानहरूमा नेपाल प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ भने ट्राफिक व्यवस्थापनमा पनि कडाइ गरिएको छ ।
धार्मिक आस्थाका कारण शक्ति पीठमा पूजा–आराधना गरेमा मनोकामना पूरा हुने विश्वास रहिआएको छ । त्यसैले देशभरका श्रद्धालुहरू बिहानै देखि व्रत बसेर देवीको पूजा गर्न मन्दिर पुगेका छन् ।उता, प्राचीनकाल देखि चलिआएको परम्परा अनुसार हनुमानढोका दरबारस्थित दशैँ घरमा पनि विशेष पूजा गरिएको छ । त्यहाँ राज्यका तर्फबाट विधिपूर्वक बलि र पूजा सम्पन्न गरिएको जनाइएको छ ।
यस वर्ष चैते दशैँलाई लक्षित गर्दै स्थानीय तहहरूले सरसफाइ, खानेपानी तथा स्वास्थ्य सेवा व्यवस्थापनमा समेत विशेष ध्यान दिएका छन् ।बडादशैँ जस्तै यो पर्वले पनि परिवारबीच भेटघाट, धार्मिक आस्था र सांस्कृतिक एकताको सन्देश दिने गरेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्