धन, समृद्धि र आरोग्यको कामना सहित आज विशेष पूजा–आराधना, साँझ यमराजका नाममा दीपदान गरिँदै
जनकपुरधाम : हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण धार्मिक पर्व धन त्रयोदशी अर्थात् धनतेरस आज शुक्रबार नेपालभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। विक्रम संवत् २०८३ कात्तिक २० गते परेको यस पर्व सँगै तिहारको धार्मिक उत्सवले औपचारिक रूपमा विशेष महत्त्व पाएको छ। आजै शुक्र प्रदोष व्रत तथा यमदीपदान समेत परेको छ।
धनतेरसलाई धन, समृद्धि र आरोग्यको प्रतीकका रूपमा लिइन्छ। धार्मिक मान्यता अनुसार यस दिन समुद्र मन्थनका क्रममा भगवान् धन्वन्तरी अमृतकलश लिएर प्रकट हुनु भएको विश्वास गरिन्छ। त्यसैले आजको दिनलाई धन्वन्तरी जयन्तीका रूपमा समेत मनाउने परम्परा छ। भगवान् धन्वन्तरीलाई आयुर्वेद तथा स्वास्थ्यका देवताका रूपमा पूजा गरिन्छ।
धनतेरसका अवसरमा घरपरिवारमा सुख, शान्ति, समृद्धि र आर्थिक उन्नतिको कामना गर्दै भगवान् धन्वन्तरी, माता लक्ष्मी तथा धनका देवता कुबेरको पूजा–आराधना गरिन्छ। यस दिन नयाँ भाँडाकुँडा, तामा, पित्तल, चाँदी तथा सुनका सामग्री खरिद गर्नु शुभ मानिने धार्मिक विश्वास छ। यही मान्यताका कारण बजारमा धातुका सामग्री तथा गरगहनाको किनमेल गर्ने परम्परा रहँदै आएको छ।
आजै परेको शुक्र प्रदोष व्रत पनि भगवान् शिवको आराधनासँग सम्बन्धित महत्त्वपूर्ण व्रत हो। प्रत्येक महिनाको कृष्ण र शुक्ल पक्षको त्रयोदशी तिथिमा मनाइने प्रदोष व्रतमा विशेषगरी सूर्यास्तको आसपासको समयमा भगवान् शिवको पूजा, अभिषेक तथा दीप प्रज्वलन गर्ने परम्परा छ। व्रतालुहरूले परिवारको सुख, शान्ति, आरोग्य तथा कल्याणको कामना गर्दै व्रत बस्ने गर्दछन्।
यसैगरी आज साँझ यमदीपदान गरिँदैछ। हिन्दू धार्मिक परम्परा अनुसार कार्तिक कृष्ण त्रयोदशीका दिन साँझ घरको मूलद्वार बाहिर दक्षिण दिशा तर्फ तेलको दीप प्रज्वलन गरी यमराजको पूजा गर्ने चलन छ। यसरी दीपदान गर्दा परिवारका सदस्यहरूलाई अकाल मृत्युबाट रक्षा प्राप्त हुने र दीर्घायु तथा सुखमय जीवन प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
धार्मिक मान्यता अनुसार यमदीपदानलाई तिहारको महत्त्वपूर्ण प्रारम्भिक अनुष्ठानका रूपमा लिइन्छ। दीप प्रज्वलनले अन्धकारमाथि प्रकाश, नकारात्मकता माथि सकारात्मकता तथा जीवनमा सुख र शान्तिको कामना गर्ने सांस्कृतिक सन्देशसमेत प्रवाह गर्दछ।
पञ्चाङ्गअनुसार आज कात्तिक २० गते बिहान कृष्ण द्वादशी तिथिपछि त्रयोदशी सुरु भएको छ। काठमाडौंको स्थानीय समयअनुसार त्रयोदशी बिहान करिब १० बजेर ४५ मिनेटपछि सुरु भई भोलि शनिबार बिहान सम्म रहने छ। त्यसैले आजको साँझ धनतेरस पूजा तथा यमदीपदानका लागि विशेष महत्त्वपूर्ण मानिएको छ।
यस वर्ष तिहारका प्रमुख पर्वहरू पनि क्रमश: मनाइँदै छन्। शनिबार काग तिहार, आइतबार कुकुर तिहार तथा लक्ष्मीपूजा, सोमबार गाई तिहार, गोवर्धन पूजा, गोरु पूजा तथा म्ह: पूजा र मंगलबार भाइटीका मनाइने छ। त्यसपछि कात्तिक २९ गते छठ पर्व मनाइने धार्मिक पात्रोमा उल्लेख छ।
धनतेरसले धन र समृद्धिको कामना मात्र नभई स्वास्थ्य, दीर्घायु, पारिवारिक सुख, आपसी सद्भाव र धार्मिक आस्थाको महत्त्वलाई समेत उजागर गर्ने विश्वास गरिन्छ। तिहारको सुरुवाती उल्लास सँगै नेपाली समाजमा दीपावली, पूजा–आराधना र सांस्कृतिक परम्पराको रौनक बढेको छ।




















आफ्नो प्रतिकृया दिनुहोस्