नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना, एआई र ‘एन्टी–स्क्याम सेन्टर’ स्थापनाको तयारी
३० असोज,असोज शुक्ल षष्ठी,काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरीलाई आगामी दिनमा आउन सक्ने विपद् तथा चुनौती सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
७१औँ प्रहरी दिवस, २०८३ का अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले प्रहरीको क्षमता अभिवृद्धिका लागि नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम तथा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताए।
उनले वित्तीय तथा साइबर अपराध पछिल्लो समय बढ्दै गएको उल्लेख गर्दै यसको रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भीर रहेको बताए। नेपाल प्रहरीको सहकार्यमा नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा टेलिकम सेवा प्रदायक र डिजिटल वालेटलाई एक ठाउँमा ल्याएर नागरिकका गुनासा थप प्रभावकारी रूपमा सम्बोधन गर्ने व्यवस्था गरिँदै गरेको उनले जानकारी दिए।
प्रधानमन्त्री शाहका अनुसार एआई, ‘एरियल सेक्युरिटी एन्ड सपोर्ट युनिट’ तथा ‘इन्टिग्रेटेड एन्टी–स्क्याम सेन्टर’ स्थापना गर्ने तयारी समेत भइरहेको छ।प्रहरी कर्मचारी, उनीहरूका परिवार तथा सर्वसाधारणको स्वास्थ्य सेवालाई ध्यानमा राख्दै नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको पनि प्रधानमन्त्री शाहले बताए।
प्रहरी दिवसका अवसरमा उनले राष्ट्रको सेवा गर्ने क्रममा भोटेकोशी–त्रिशूली विपद् तथा विभिन्न कालखण्डमा अमरत्व प्राप्त प्रहरी प्रति श्रद्धाञ्जली अर्पण गर्दै कर्तव्य निर्वाहका क्रममा घाइते तथा अशक्त प्रहरीको शीघ्र स्वास्थ्य लाभको कामना गरे।
“विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी” भन्ने नाराका साथ ७१औँ प्रहरी दिवस मनाइएको उल्लेख गर्दै उनले दिवसका अवसरमा विमोचन गरिएको ‘पुलिस मिरर २०२६’ले नेपाल प्रहरीको इतिहास र वर्तमानलाई भावी पुस्तासँग जोड्ने अपेक्षा व्यक्त गरे।
देशको आन्तरिक शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम राख्न नेपाल प्रहरी निरन्तर अग्रभागमा खटिरहेको भन्दै प्रधानमन्त्री शाहले संकटका बेला राष्ट्रसेवकको धैर्य, सही निर्णय र कुशल कार्यसम्पादन नै महत्वपूर्ण हुने बताए।
उनले प्रहरीको विपद् व्यवस्थापन, प्रविधि विस्तार तथा पूर्वाधार निर्माणमा सहयोग गर्ने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय विकास साझेदार प्रति धन्यवाद व्यक्त गर्दै ७१औँ प्रहरी दिवस तथा आसन्न बडादशैँका अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिको शुभकामना व्यक्त गरे।




















आफ्नो प्रतिकृया दिनुहोस्