२० असोज,असोज कृष्ण एकादशी,काठमाडौं : भोटेकोशी बाढीबाट प्रभावित लक्षित परिवार तथा व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यले ‘समुन्नति कार्यक्रम’ सञ्चालन गरिने भएको छ। कार्यक्रम कार्यान्वयनका लागि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशाल भण्डारीले माननीय मन्त्री सिता वादीको उपस्थितिमा हस्ताक्षर गर्नुभएको हो।‘समुन्नति कार्यक्रम’अन्तर्गत बाढीबाट प्रभावित परिवार तथा जोखिममा रहेका व्यक्तिहरूलाई प्राथमिकताका आधारमा सहयोग उपलब्ध गराइनेछ। कार्यक्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा अन्य जोखिममा रहेका प्रभावित व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइने जनाइएको छ।

सम्बन्धित स्थानीय तह तथा अन्य निकायसँग समन्वय गरी वास्तविक लाभग्राहीको पहिचान गरिनेछ। पहिचान भएका प्रभावितलाई उनीहरूको आवश्यकता र अवस्थाका आधारमा सुरक्षित, पारदर्शी, मर्यादित तथा आवश्यकतामा आधारित सहयोग उपलब्ध गराउने कार्यक्रमको उद्देश्य रहेको छ।
कार्यक्रमले बाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्नुका साथै उनीहरूको दीर्घकालीन पुन:स्थापनामा समेत जोड दिनेछ। प्रभावित परिवारलाई जीविकोपार्जनका अवसर, सीप विकास, रोजगारी तथा उद्यमशीलतासँग जोडेर आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउने आधार तयार गर्ने लक्ष्य राखिएको छ।
भोटेकोशी बाढीबाट प्रभावित समुदायमा राहत तथा तत्कालीन सहयोगसँगै दीर्घकालीन पुन:स्थापनाको आवश्यकता रहेको अवस्थामा मन्त्रालय र नेपाल रेडक्रसबीच भएको यो समझदारीले प्रभावित परिवारलाई पुनःस्थापनाको प्रक्रियामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।




















आफ्नो प्रतिकृया दिनुहोस्