१९ असोज,असोज कृष्ण दशमी,जनकपुरधाम: जनकपुरधाममा मधेशप्रदेश सरकार र स्वास्थ्य मन्त्रालय विरुद्ध युवाहरूको आक्रोश झन् चुलिँदै गएको छ। मधेश युवा सञ्जालले उठाएका विभिन्न जनसरोकारका मागहरू र प्रदेश सरकारलाई दिएको १५ दिने अल्टिमेटम समाप्त भइसक्दा पनि कुनै ठोस पहल वा सुनुवाइ नभएपछि सञ्जालले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउँदै निरन्तरता दिएको छ।
सोही क्रममा जनकपुरधाममा स्वास्थ्य मन्त्रीको गैरजिम्मेवारपन र लाचारी विरुद्ध आक्रोशित युवाहरूले भव्य मसाल जुलुस निकालेका छन्। जनकपुरका सडकमा मसाल बोकेर ओर्लिएका युवाहरूले स्वास्थ्य मन्त्रीको राजीनामाको माग गर्दै नाराबाजी गरेका छन्।
आन्दोलनकारी युवाहरूका अनुसार प्रदेशको स्वास्थ्य क्षेत्र अस्तव्यस्त बनेको, सरकारी अस्पतालहरूमा औषधिको अभाव रहेको, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार असफल भएको र पूर्व-घोषित मागहरूप्रति सरकार पूर्ण रूपमा उदासीन बनेकोले राजीनामा नै अन्तिम विकल्प बनेको छ।
अल्टिमेटमको समय गुज्रिँदा पनि प्रदेश सरकार कानमा तेल हालेर बसेको भन्दै युवाहरूले यदि तत्काल आफ्ना मागहरू सम्बोधन नगरिए र स्वास्थ्य मन्त्रीले मार्गप्रशस्त नगरे आगामी दिनमा अझ कडा तथा निर्णायक आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने चेतावनी दिएका छन्।




















आफ्नो प्रतिकृया दिनुहोस्