सर्लाही । सर्लाहीको सीमावर्ती ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगरमा प्रहरीले वैध रकमलाई अवैध भन्दै नियन्त्रणमा लिएको आरोपमा सोमबार सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरिएको छ।
प्रहरी चौकी त्रिभुवननगरले सोमबार चन्द्रनगर गाउँपालिका–५, मोहनपुरका २५ वर्षीय आलम मन्सुर र ४० वर्षीय विकाउ मन्सुरलाई बीआर–०६ बीटी–३४३६ नम्बरको मोटर साइकलमा सवार अवस्थामा पाँच लाख ४५ हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो।
सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईका अनुसार पक्राउ परेकाहरूले रकमको स्पष्ट स्रोत देखाउन नसके पछि सो रकम सहित दुवै जनालाई जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको हो।
तर मन्सुर परिवार र स्थानीय बासिन्दाले प्रहरीले वैध रकमलाई ‘अवैध’ ठहर गर्दै लुटपाट जस्तो शैलीमा बरामद गरेको भन्दै आपत्ति जनाएका छन्। उनीहरूका अनुसार उक्त रकम विवाहका तयारीका लागि किनमेल गर्न प्रयोग गर्न लागिएको थियो।
प्रदर्शनकारीहरूले मलंगवा स्थित कुमारी बैंकबाट रकम झिकिएको प्रमाण स्वरूप बैंक स्टेटमेन्ट देखाउँदै प्रहरी र प्रशासन विरुद्ध नाराबाजी गरेका थिए। साथै, उनीहरूले जिविस चोकमा टायर बाल्दै सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन समेत गरेका थिए।
मोहनपुरकी अप्सना खातुनका अनुसार, उनले छोरीको विवाहका तयारीका लागि आफ्ना नातेदार आलम र विकाउलाई उक्त रकम जिम्मा लगाएकी थिइन्। तर प्रहरीले वास्तविकता नबुझी हतारमा रकम भन्सारमा बुझाएको उनको आरोप छ।
प्रहरी प्रवक्ता डिएसपी राईले भने पक्राउ परेकाहरू शंकास्पद अवस्थामा ठूलो परिमाणको नगद सहित फेला परेकाले कानूनी प्रक्रिया अनुसार रकम भन्सारमा बुझाइएको स्पष्ट पारेका छन्। उनका अनुसार, मलंगवाबाट पैसा झिकेर त्रिभुवननगर तर्फ लैजाने प्रयोजन पनि शंकास्पद देखिएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्