(आंकाक्षा धामी) ,काठमाडौं । जेनजी विद्रोह पछि बनेको अन्तरिम सरकारको मुख्य जिम्मेवारी आगामी फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गराउनु हो । सोही अनुसार सरकारले तयारी गरिरहेको दाबी गरेको छ ।
भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भए पछि कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा निर्वाचन गराइछाड्ने अठोट समेत लिएकी छन् । यता, निर्वाचन आयोगले पनि घोषित प्रतिनिधि सभाको चुनाव सम्बन्धी कार्यतालिका सार्वजनिक गरेर काम थालेको जनाएको छ ।
अध्यादेश मार्फत् ऐनमा संशोधन गरिए पछि आयोगले अहिले मतदाता नामावली सङ्कलन गरिरहेको छ । चुनावको मिति घोषणा भइसके पछि मतदाता नामावली सङ्कलन गर्न नपाइने व्यवस्थामा परिवर्तन गरी अध्यादेश ल्याइएको थियो ।
कार्तिक ३० गते सम्म मतदाता नामावली सङ्कलन जारी रहने आयोगले जनाएको छ । विसं २०८२ फागुन २० गते सम्म १८ वर्ष पुगेका नागरिक मतदान गर्न पाउने छन्। निर्वाचनको तालिका नै तयार भएर काम सुरु भएपनि मुख्य दलहरुसँग सरकारले संवाद सुरु नगर्दा संशय पैदा भएको छ ।

नयाँ मतदाता नामावली सूचिमा आफ्नो नाम दर्ता गराउन निर्वाचन आयोगको सम्बन्धित कार्यालयहरुमा छिटपुट मात्र युवाहरुको उपस्थिति देखिन्छ । चुनाव हुने वा नहुने अन्योलमा रहेकाले आयोगका कार्यालयहरुमा नयाँ नाम दर्ता गराउनेहरुको उल्लेख्य उपस्थिति देखिदैन् ।
अनलाइन फारम भरिसके पछि आयोगको जुनसुकै कार्यालयमा गएर मतादाता नामावलीमा नाम लेखाउने सक्ने भएपनि त्यसपछिको प्रक्रियाका लागि कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिनका लागि युवाहरुको उपस्थिति उल्लेख्य देखिएको छैन् ।
आइतबार ललितपुर स्थित निर्वाचन आयोगको कार्यालयमा न्यून संख्यामा मात्र युवाहरु नाम दर्ताका लागि उपस्थित थिए । त्यस मध्येका नाम दर्ता गराउन पुगेका खोटाङका मिसन कार्की निर्वाचन हुनेमा विश्वस्त छन् ।
‘मेरो घर खोटाङ हो । वायोमेट्रिकका लागि आएको छु । पहिलो पटक भोट दिने तयारीमा छु । निर्वाचन हुन्छ भन्ने कुरामा विश्वस्त छु र हुनु पनि पर्छ,’उनले भने । जेनजी आन्दोलनको उपलब्धी पनि निर्वाचन गराउनु भएको भन्दै उनले भने, ‘अब देशको नेतृत्व भिजनरि भएको जेनजी नै आउनु पर्छ । विदेशमा बस्ने नेपालीहरुले भोट हाल्न पाउनु पर्छ । त्यसका लागि आबश्यक कागजात मिलाउनु पर्छ । सबै कागजात मिल्यो भने सबेैले भोट हाल्न पाउँछन् । मतको सही सदुपयोग हुनु पर्छ । त्यसका लागि हामी गाउँ गाउँमा गएर सबैलाइ सचेत बनाउन सक्नु पर्छ । परिवर्तनको सुरुवात हामी बाटै हुनु पर्छ । जेनजी अगाडि आउनु पर्छ ।’
पहिलो पटक नाम दर्ता गराउन पुगेका पाटनका विशेष जोशी निर्वाचन हुनेमा विश्वस्त छन् । उनी अबको नेतृत्व युवा पुस्ताले नै लिनु पर्नेमा जोड दिन्छन् । ‘अबको नेतृत्व भनेको युवा पुस्ताले लिनु पर्छ । भ्रष्टाचार रोक्नु पर्छ । राम्रो मान्छे अगाडि आउनु पर्छ ।’



















आफ्नो प्रतिकृया दिनुहोस्