२६ जेठ,(एजेन्सी): इजरायली सेनाले गाजा जाँदै गरेको मानवीय सहयोग बोकेको एउटा डुंगा रोकेको छ । जलवायु अभियन्ता ग्रेटा थुनबर्ग सहितका अन्य कार्यकर्तालाई सोमबार बिहान नियन्त्रणमा लिएको छ । इजरायलले लामो समय देखि लगाउँदै आएको गाजा माथिको नाकाबन्दी हाल हमास सँगको युद्धका कारण झन कडा बनाइएको छ ।
उक्त डुंगा गाजा तर्फ इजरायलको सैन्य अभियान र मानवीय सहायता प्रवाहमा लगाइएको कडाइको विरोध स्वरूप पठाइएको थियो । दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा घातक र विनाशकारी युद्धहरू मध्ये गाजाको यो संघर्ष मानिएको छ । हाल गाजामा लगभग २० लाख प्यालेस्टिनीहरू भोकमरीको जोखिममा परेका छन् ।
उक्त यात्रा फ्रिडम फ्लोटिला कोअलिशन द्वारा आयोजना गरिएको हो । समूहले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इजरायली सेनाले सहायता पुर्याउन गइरहेका कार्यकर्ताहरूलाई अपहरण गर्यो, जहाजलाई गैरकानुनी रूपमा नियन्त्रणमा लिइयो, निर्शस्त्र नागरिक चालक दललाई अपहरण गरियो, र जिवनरक्षक सामग्री—जसमा बच्चाका लागि दूध, खाद्यान्न र औषधि सामाग्रीहरू थिए—जफत गरियो ।’

तर, इजरायली विदेश मन्त्रालयले यो यात्रालाई प्रचारबाजीको प्रयासको रूपमा चित्रण गरेको छ । सामाजिक सञ्जाल एक्स मा पोस्ट गर्दै मन्त्रालयले लेखेको छ, ‘सेलिब्रिटीहरूको सेल्फी याट सुरक्षित रूपमा इजरायली तट तर्फ आइरहेको छ ।’
मन्त्रालयले थप जनाएको छ कि यात्रुरुहरू आफ्ना देश फर्किने छन् र जहाजमा रहेको सहायता सामग्रीलाई गाजामा स्थापित माध्यमबाट पठाइने छ । पछि इजरायली सेनाले सुन्तला रङको लाइफ ज्याकेट लगाएका कार्यकर्ताहरूलाई स्यान्डविच र पानी वितरण गरिरहेको भिडियो समेत सार्वजनिक गरेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्