३१ जेठ,मोरङ : मोरङको उर्लाबारीमा आयोजित एक कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी ३७० जना नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्। नव-प्रवेशीहरू लाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वागत गरेका हुन्।
पार्टी प्रवेश समारोहमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रप्रति जनविश्वास दिन-प्रतिदिन बढिरहेको दाबी गरे। जनसमर्थन बढे सँगै पार्टी लाई घेराबन्दी गर्ने र बदनाम गर्ने नियोजित षड्यन्त्र भित्र–बाहिरबाट भइरहेका उनले आरोप लगाए।

“सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा उल्लेखनीय काम गर्यौं। तर, षड्यन्त्रपूर्वक सरकारबाट बाहिरिनु पर्यो। त्यस पछि पनि हामी जनताको घर–घर पुग्यौं, दुःख–सुख बाँड्यौं। त्यसैले जनविश्वास अझै मजबुत हुँदै गएको छ,” उनले भने।
पूर्वी नेपालका झापा र मोरङ जिल्लामा अघिल्लो स्थानीय निर्वाचनमा पार्टीले हासिल गरेको सफलताको स्मरण गर्दै प्रचण्डले आगामी निर्वाचनमा अझ राम्रो नतिजा आउने विश्वास व्यक्त गरे।
उनले माओवादीको जनआधार विस्तार देखेर प्रतिक्रियावादी शक्ति आत्तिएको र त्यसैले षड्यन्त्रहरू भइरहेको टिप्पणी गरे। नवप्रवेशी कार्यकर्तालाई संगठन भित्र उपयुक्त भूमिका दिने प्रतिबद्धता व्यक्त गर्दै प्रचण्डले पार्टी लाई अझ सुदृढ बनाउँदै अघि बढ्ने बताए।
आफ्नो प्रतिकृया दिनुहोस्