२९ भदौ, शुक्ल तृतिया,जनकपुरधाम : बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त हुनु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा मन्त्रिपरिषद्को निर्णय अनुसार झालाई परिषद्को नेतृत्वको जिम्मेवारी दिइएको हो।
नयाँ नेतृत्वसँगै लामो समय देखि सुस्त रहेको परिषद्का विकास निर्माणका कामले गति लिने तथा जनकपुरधामको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षणमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को प्रमुख उद्देश्य जनकपुरधाम तथा आसपासका धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन तथा पूर्वाधार विकास गर्नु हो। जानकी मन्दिर, ऐतिहासिक पोखरी तथा सरोवर, धार्मिक पदमार्ग लगायतका सम्पदाको संरक्षणसँगै परिषद्ले विकास गुरुयोजना (Master Plan) कार्यान्वयनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
पदभार ग्रहण गर्दै अध्यक्ष झाले जनकपुरधामलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ। उहाँले जानकी मन्दिर परिसरको सौन्दर्यीकरण, ऐतिहासिक तलाउ तथा कुण्डहरूको संरक्षण र बृहत्तर जनकपुर क्षेत्रको विकास गुरुयोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्राथमिकता रहेको उल्लेख गर्नुभएको छ।

अध्यक्ष झाका अनुसार परिषद्का कामलाई प्रभावकारी बनाउन स्थानीय समुदाय, सरोकारवाला निकाय, पुजारी तथा गुठी संस्थानसँग आवश्यक समन्वय गरिने छ। विकास निर्माणका काममा पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता कायम गर्ने उहाँको प्रतिबद्धता छ।
यद्यपि, नयाँ अध्यक्षका लागि परिषद्को नेतृत्व अवसरसँगै चुनौतीपूर्ण पनि देखिएको छ। विगतका वर्षहरूमा परिषद्भित्र देखिएको प्रशासनिक शिथिलता, बजेट विनियोजन तथा खर्च सम्बन्धी प्रश्न, विभिन्न निकायमा परेका उजुरी तथा अध्यक्ष र कार्यकारी निर्देशक बीच अधिकार क्षेत्रलाई लिएर देखिँदै आएको विवादले परिषद्का काम प्रभावित हुँदै आएको बताइन्छ।
त्यसैगरी, ऐतिहासिक पोखरी तथा धार्मिक स्थलहरूको संरक्षणमा अपेक्षित प्रगति हुन नसक्नु र विकास गुरुयोजनाको प्रभावकारी कार्यान्वयन नहुनु परिषद्का प्रमुख चुनौतीका रूपमा देखिएका छन्।
अब नवनियुक्त अध्यक्षका सामु परिषद्भित्र सुशासन र प्रशासनिक अनुशासन कायम गर्नुका साथै विगतमा उठेका वित्तीय पारदर्शितासम्बन्धी प्रश्नलाई सम्बोधन गर्ने जिम्मेवारी समेत रहने छ। अधुरा विकास योजनालाई पुनः सक्रिय बनाउँदै स्थानीय तह, गुठी संस्थान, जानकी मन्दिर व्यवस्थापन तथा अन्य सरोकारवाला निकाय बीच प्रभावकारी समन्वय कायम गर्नु उहाँका प्रमुख प्राथमिकता मध्ये पर्ने देखिन्छ।
अध्यक्ष झाले विगतका कमजोरीबाट पाठ सिक्दै परिषद्लाई पारदर्शी, उत्तरदायी र प्रभावकारी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनु भएको छ। स्थानीय संस्कृतिविद्, बुद्धिजीवी तथा सरोकारवालाहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै परिषद्लाई गुटबन्दी र अनियमितताबाट मुक्त गरी जनकपुरधामको धार्मिक तथा सांस्कृतिक पहिचानसँगै समग्र क्षेत्रको विकासमा ठोस परिणाम देखाउन आग्रह गरेका छन्।




















आफ्नो प्रतिकृया दिनुहोस्